काठमाण्डौ,३० असार ।
नेकपा एमालेले सरकारले ल्याएको बजेटमा कांग्रेसीकरण भएको भन्दै आपत्ति जनाएको छ ।
एमाले संसदीय दलको बैठकले आर्थिक बर्षका लागि सार्बजनिक गरीएको बजेटमा गम्भीर त्रुटी भएको भन्दै तत्काल नसच्याए बजेट पारित नगर्ने चेतावनी दिएको छ । बैठकमा एमाले सभासदहरुले सार्बजनिक गरीएको बजेटमा कांग्रेस हावी भएको आरोप लगाएका थिए ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीलाई अपमानित गर्ने गरी ल्याइएको बजेट पारित गर्न नहुने भन्दै बजेटको तृतीयांश मात्रै पारित गरेर बाकी बजेट नया सरकारले ल्याउने दाबी गर्नुभयो ।
उपाध्यक्ष भण्डारीले पुष्पलाल लोकमार्गको नाम हटाएर मध्यपहाडी लोकमार्ग राखिएकोमा आपत्ति जनाउनु भएको छ । बैठकमा सभासद राजेन्द्र पाण्डेले जननेता मदन भण्डारीलाई कांग्रेसका सभासद हरि खड्कासँग दाँजेर ट्रमा सेन्टरको नाम राखेर एमालेलाई अपमान गरेको बताउनु भयो ।
सरकारले सार्बजनिक गरेको बजेटमा भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर र बाग्लुङ अस्पतालमा हरि खड्का ट्रमा सेन्टर बनाउने उल्लेख छ । सभासद खड्काको दुर्घटनामा निधन भएको थियो ।