काठमाण्डौ,२९ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने दाबी गर्नुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०२औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उहाँले साहित्यिक कृतिको माध्यमबाट नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तले र्पुयाएको योगदान प्रेरणादायी भएको बताउनु भयो ।
प्रधानमन्त्री कोइरालाले भानुभक्तले नेपाली समाजको एकताका लागि गर्नुभएको योगदानको कदरस्वरुप भानु प्रतिष्ठानले माग गर्दै आएको प्रतिष्ठानको भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउन आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले प्रतिष्ठानका तर्फबाट नेपाली भाषा तथा संस्कृतिमा योगदान पुर्याएका साहित्यकारद्वय चूडामणि रेग्मी र तेजेश्वरबाबु ग्वंगलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली समाजको एकताका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएका भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन देश तथा विदेशका विभिन्न स्थानमा भानुभक्तको सालिक निर्माण गर्ने कार्य अघि बढेको जानकारी दिनुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले भानुभक्तले तत्कालीन अवस्थामा साहित्य रचनाका माध्यमबाट गर्नुभएको लोकहितको कामना वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भानु जयन्ती र पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रचलन नेपालको जारी संक्रमणका कारण अबरुद्ध भएकोमा यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।