काठमाडौ २९ असार । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज अपरान्न दिल्ली जाँदै हुनुहुन्छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि उहा त्यस तर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
भ्रमणका क्रममा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज लगायतका भारतीय उच्च अधिकारी हरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाको स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनु भयो ।
भेटका क्रममा उहाँहरुबीच नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारी तथा हालै चीन र भारतबीच भएको लिपुलेक सम्झौताको बारेमा छलफल हुने बताइएको छ ।
त्रिदेशीय समझदारीका विषयमा दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच ठोस र मूर्त रुपमा छलफल हुने सचिव खड्काको भनाई छ ।भूकम्पपछिको पुनरनिर्माण र विकास बारे अध्ययन गर्न दाहाल गुजरातको भूज जाने कार्यक्रम पनि रहेको छ ।
भ्रमण पुरा गरी उहा आगामी साउन ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसैगरी कांग्रेस बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साउन १३ गते भारत जाने तयारी भएको छ ।