काठमाडौं, २४ असार ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानको मस्यौदामा राय–सुझाव लिन जाने सभासदको सुरक्षा सहितको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालासहित सरकारका उच्च अधिकारीहरुसंग सभाअध्यक्ष नेम्वाङले जनमत संकलनमा जाने सभासदलाई आबश्यक ब्यबस्था मिलाउन निर्देशन दिनुभयो ।
उहाँले अहिले बर्षातको समय भएकाकाले मोटर नजाने र जोखिमपूर्ण ठाउँमा सभासदहरुलाई हेलिकप्टबार जाने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गर्नुभएको छ ।
संविधानको पहिलो मस्यौदा लिएर सभासदहरु केही दिनपछि आ–आफ्नो निर्वाचनमा क्षेत्रमा जाने तयारी गरिरहेका छन । प्रत्येक निर्वाचन क्षेत्रका प्रमुख केन्द्रहरुमा औपचारिक कार्यक्रम गरेर जनताको सुझाव संकलन गर्ने तयारी भइरहेको छ ।
संविधानसभा सचिवालयले जिल्लाका निर्वाचन क्षेत्रहरुमा आगामी साउन ४ र ५ गते अन्तरक्रिया गर्ने तयारी गरेको छ ।