काठमाण्डौ,२३ असार
नेकपा एमाले केन्द्रिय कमिटी बैठक साउन १० गते बस्ने भएको छ । भूकम्प पछिको पुननिर्माण, संविधान निर्माण तथा पार्टीका आन्तरिक जीवनको बारेमा आधिकारिक दृष्टिकोण बनाउन बैठक बोलाउने निर्णय भएको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय राजनीतिक जीवनमा रणनीतिक महत्वका निर्णयहरु केन्द्रीय कमिटी बैठकमै छलफल गरेर निर्णय गर्नुपर्ने भएकाले बैठक आह्वान गरिएको गुरुङले बताउनु भयो ।यसअघि हिजैमात्रै केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अबिलम्ब केन्द्रीय कमिटी बैठक बोलाउन लिखित आग्रह गर्नुभएको थियो ।
तीन बुँदे पत्रमा थापाले भूकम्प पछिको अवस्थामा पार्टीका समग्र कामहरुको विश्लेषण र समीक्षा सहित व्यवस्थित बस्ती विकास र पुनःनिर्माण कार्यमा केन्द्रीय कमिटीले सिंगो पार्टी पंक्तिलाई आवश्यक दिशा निर्देशन गर्न जरुरी रहेको उल्लेख छ ।