काठमाण्डौ,२३ असार ।
नव नियुक्त प्रधान न्यायाधीश कल्याण श्रेष्ठले अदालत राज्यको स्वतन्त्र अंग भएको बताउनु भएको छ । राष्ट्रपतिसँग शपथ ग्रहण गरे लगत्तै रामशाह पथ स्थित सर्वोच्च अदालत पुगेर पदभार सम्हालनु भएका उहाले भन्नुभयो ’हामी राजनीति गर्न चाहँदैनौं, हामीमाथि पनि राजनीति नहोस्।’
संक्रमण कालमा न्यायपालिका प्रभावित हुन सक्ने बताउँदै उहाले यो अवस्थामा न्याय दिन आफूले सक्दो कोसिस गर्ने बताउनु भयो । छिटै सर्वोच्चका थप न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने उहाले जानकारी दिनुभयो ।
आजै बिहान राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
हिजो प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि आज प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएको हो । संवैधानिक परिषद्ले सिफारिस गरेपछि उहालाई यही असार १४ गते संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । प्रधानन्यायाधीशमा श्रेष्ठको कार्यकाल १० महिना रहनेछ ।