काठमाण्डौ, २२ असार ।
नेपाललाई हिन्दूराष्ट्र कायम गर्न दबाब दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा विरोध गरेको छ ।
संविधानको मस्यौदामा ‘नेपाललाई धर्म निरपेक्ष राज्य’ भनी उल्लेख गरिएको विरोधमा राप्रपा नेपालले जुलुस र धर्नालगायतका विरोध कार्यक्रम गरेको हो ।
बबरमहलबाट सुरु भएको राप्रपा नेपालको विरोध जुलुस संविधानसभा भवन क्षेत्र नयाँ बानेश्वरसम्म पुगेको थियो । बानेश्वर पुगेपछि निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच केहीबेर सामान्य झडपसमेत भएको थियो ।
बानेश्वरको धर्नामा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘जनताको चाहनाअनुसार नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने र मस्यौदामा प्रस्तावित धर्म्निरपेक्षताको व्यवस्था खारेज गर्नुपर्ने’ बताए ।
उनले ‘आम नेपालीको इच्छा विपरित नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइए सशक्त आन्दोलन गर्ने’ चेतावनीसमेत दिए । राजधानीबाहेक बाहिरका जिल्लामा पनि राप्रपा नेपालले मंगलबार जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।