मनसुन कसैको लागि बरदान त कसैको लागि हर्ष न विमात !

मनसुन कसैको लागि बरदान त कसैको लागि हर्ष न विमात !

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

काठमाडौं, २२ असार ।

मनसुन सुरु भएको करिब तीन साता बितिसक्दा पनि पानी राम्रोसँग नपरेर रोपाईं गर्न समस्या भएर चिन्तित भएर बसेका किसानहरूलाई अहिले पानी परेसँगै केही राहत मिलेको छ ।

अधिराज्यभर खेतीयोग्य जग्गामा अहिलेसम्म जम्मा ४० प्रतिशत जग्गामा मात्र रोपाईं सम्पन्न भएको छ भने बाँकी ६० प्रतिशत जग्गामा अझै पनि रोपाईंको काम गर्न बाँकी रहेकोमा पानी परेसँगै धान रोप्ने काम पनि सुचारु भएको छ ।

कृषि क्षेत्रमा आबद्ध राजधानीबासीहरू कहिले पानी पर्छ र रोपाईं कार्यलाई तीब्र बनाउने सुरमा रहेका किसानहरू पानी परेसँगै रोपाईं कार्यलाई पनि तीब्र पार्न कम्मर कसेर लागेका छन् ।

विगतका वर्षहरूमा असार सुरु हुनेबित्तिकै पानी पर्ने गरेकोमा यसपाली केही समय ढिला गरी वर्षात् सुरु भएको छ । यसपाली धान रोप्न बाँकी ६० प्रतिशत जमिनमा पूर्ण रूपमा रोपाईं गर्न भने नपाइने कृषकहरूको भनाई रहेको छ ।

गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी महाभूकम्पले गर्दा प्रायः मानिसहरूको घर भत्किएको र कसैको घर बस्न योग्य नभएको कारण राजधानीबासीहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएसँगै आफ्नो खाली जग्गामा नै शरण लिनु परेको र कोही अरूको खाली जग्गामा तहरा बनाई बस्नु परेका कारण पूर्ण रूपमा खाली जग्गामा धान रोप्न असमर्थ देखिएको हो ।

‘शक्तिशाली भूकम्पपछि केही खाली जग्गामा मात्र रोपाईं गर्ने सम्भावना छ । एक रोपनी जग्गा भएकोमा करिब आधा जसो खाली जग्गामा स्थानीय मानिसहरूको बसोबास, घरको सरसामान ल्याएर राखिएको छ । उनीहरूलाई उठेर जान र आफ्नो सामान पन्छाउन आग्रह गर्ने अवस्था छैन, दैवी विपत्तिले गर्दा उत्पन्न भएको यस्तो अवस्थामा आफूले खासै केहीँ गर्न नसके पनि एउटा अस्थायी बास भए पनि उनीहरूलाई ठूलो राहत सरह भएको छ । त्यसैले यसपाली आधा रोपनी जग्गामा मात्र रोपाईं गर्ने सोचमा छुं ।’ ललितपुर बालकुमारीका लक्ष्मण महर्जनले बताए ।

विनाशकारी महाभूकम्पका कारण राजधानीलगायत आसपासका क्षेत्रमा पुराना र कैयौं ढलान घर भत्किएर बस्न नसक्ने अवस्थामा रहेको छ भने कसैको आर्थिक अवस्था नाजुक भएर त्यसलाई पुनःनिर्माण गर्ने अवस्था पनि छैन ।

त्यसमाथि मनसुनको समय हुँदा उनीहरूलाई दोहोरो मार पनि परेको छ । प्रायः किसानहरूको केही खाली जग्गा भएर पनि राम्रोसँग पानी नपरेर समस्या भएको छ भने खुला आकाशमुनि बासस्थानमा बसेर जीवन गुजारा गरिरहेकाहरूलाई पानी परेर फेरि अर्को समस्या थपिएको छ ।

‘सरकार र रेडक्रसले उपलब्ध गराएको त्रिपाल र टेण्टको भरमा बस्नु परेको छ । अलि ठूलो पानी पर्यो भने यस्तो त्रिपाल र टेण्टको भरमा हामीहरूको जीवन कसरी सुरक्षित हुन्छ ? घरायसी सामान सबै यत्तिकै छ, लत्ताकपडा छ र नाति–नातिनाहरू छन् ।

सबैभन्दा ठूलो चिन्ता भनेको यी स–साना बालबच्चाहरूको छ । ठूलै पानी पर्यो र हुरी बतास चल्यो भने हामी कहाँ जाऔँ, के खाऔँ र के लाऔँ भन्ने चिन्ताले सताईरहेको छ । आफन्तहरूलाई मात्र कत्ति दुःख दिने एकातिर आफूहरूको मन मान्दैन । हामी गरिब, दुःखियालाई सधैँ दुःखै मात्र आउने रहेछ ।’

आँखा रसाउँदै खुसिबुँ, काठमाडौंकी ६२ वर्षीया सुनमाया बस्नेतले आफ्नो दुःख पोखिन् ।सबैको आ–आफ्नै दुःख छ । कसैको भूकम्पले गर्दा घर भत्किएर कहाँ बस्ने, के खाने, के लाउने भन्ने समस्या छ भने कसैलाई अस्थायी रूपमा अर्काको जग्गामा गएर अस्थायी बसोबास गर्न बाध्य छन् ।

यहाँ जिम्मेवारी सरकारको भएर पनि उचित व्यवस्थापन गर्न सकिरहेको छैन । नेताहरू भाषण दिनमा माहिर छन् । भाषण दिएर आफ्नो वाहवाही र एउटा आश्वासन बाहेक अरू खासै केहीँ भएको देखिँदैन ।

भाषण दिने प्रायः नेताहरूले बोलेका थिए, भूकम्पबाट पीडित भएका नेपाली जनतालाई मनसुन अगावै सबैलाई सुरक्षित अस्थायी बासस्थानको व्यवस्था गर्ने भाषण ठोके तर सबै कुरा बोले जस्तो हुँदैन रहेछ यहाँ ।

यदि आफूले बोलेसरह गरेर देखाउन सकेको भए आज नेपाली जनताको यो बिचल्ली हुने थिएन ।भनिन्छ, हरेक कुरामा दुई पक्ष हुन्छ एउटा राम्रो पक्ष र अर्को नराम्रो पक्ष । यस्तै भएको छ यसपालीको मनसुन पनि ।

एकातिर पानी परेर किसानहरूलाई रोपाईं गर्ने वातावरण श्रृजना भएसँगै खुसी छन् त अर्को्तिर विनाशकारी महाभूकम्पले आफ्नो कर्मथलो नै सखाप पारेपछि बल्ल तल्ल पाएको अस्थायी बासस्थानमा पनि मनसुनले क्षति पुग्ने हो कि भन्ने मनमा डर पैदा गरेर बस्नु परेको छ ।

दिनरात पानी परेपछि सुत्ने त कुरै छोडौं । आफूलगायत परिवारमा के बित्ने हो भन्ने डर र चिन्ताले ग्रसित छ । त्यसैले कसैको लागि यो मनसुन बरदान भएको छ भने त कसैको लागि हर्ष न विमात !
साभार : ईन्फोनेपाल डट नेट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी