काठमाडौं, २१ असार ।
संबिधान सभाको बैठक बसीरहेको छ । नया बानेश्वर स्थित संबिधान सभा भवनमा जारी बैठकमा संविधानको प्रांरम्भीक मस्यौदामाथि सभासदहरुले धारणा राखिरहेका छन । छलफलमा भाग लिँदै नेकपा एमालेका माधवकुमार नेपालले जसरी भए पनि संविधान सभाबाटै संविधान जारी गरेर संविधान सभालाई सफल पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहमतिको यात्रा कठिन भएको तथा पूर्ण सहमति कायम गर्न असम्भव भए पनि न्यूनतम सहमति कायम गर्नैपर्नेमा जोड दिँदै सबै पक्षलाई समेटेर सर्वस्वीकार्य संविधान जारी गर्नुपर्ने बताउनु भयो ।
एनेकपा माओवादीका अग्नि प्रसाद सापकोटाले ६५ वर्षदेखिको नेपाली जनताको संविधान प्राप्तिको आकाङ्क्षा पूरा हुने अवस्था आएको उल्लेख गर्दै त्यसले सार्वभौमसत्ता मुखरित र राष्ट्रिय स्वाभिमान स्थापित भएको बताउनुभयो । राष्ट्रपतिय प्रणाली मुलुकका निम्ति उपयुक्त भएको भन्दै उहाँले नेपाली नागरिकको परिवर्तनको चाहनालाई आत्मसाथ गर्नैपर्ने र त्यो प्रणालीलाई अङ्गीकार गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले मस्यौदाको प्रस्तावना लामो भएको, मुलुकको मौलिकता लोप हुने गरी नागरिकता वितरण गर्न नहुने, राष्ट्रको अस्तित्व मेटिने गरी हचुवाको भरमा नागरिकता दिन नहुने तथा दलितलाई आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
मस्यौदा समितिले यही असार १५ गते संविधानसभामा पेश गरेको मस्यौदामाथि शुक्रबारदेखि निरन्तर छलफल भइरहेको छ ।
यसैबिच संविधानको प्रांरम्भीक मस्यौदामाथि असहमति जनाउँदै चारवटा दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् । बैठकको सुरुमा बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता सहितको लोकतान्त्रिक संविधानका लागि जनताले गरेको आन्दोलनको मर्म मस्यौदामा समावेश नभएकामा आपत्ति जनाउनुभयो ।
मस्यौदाले नागरिकताका सवालमा मधेसीमाथि अन्याय गरेको, लैङ्गिक रुपमा विभेद गरिएको, अन्यायमा परेका दलित, सीमान्तकृत वर्ग, जनजाति, महिलालाई उपेक्षा गरेको आरोप उहाँले लगाउनुभयो ।
तराईका सीमान्तकृत वर्गको उत्थानमा मस्यौदा मौन रहेको र आफ्ना माग त्यसले सम्बोधन नगरेको विरोधमा आफू नेतृत्वको फोरमसहित चार दलले बैठक बहिष्कार गरेको बताउनु भयो । सभासद् यादवको उक्त घोषणासँगै सभामा रहनुभएका ती दलका सभासद् संविधानसभाबाट बाहिरेका छन ।