काठमाडौं, २० असार ।
प्रमुख चार राजनीतिक दलहरु साउन १५ गतेभित्रै संविधान ल्याउने गरि छलफलमा जुटेका छन ।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेको प्रस्ताव अनुसार अबको एक महिनाभित्र संविधान ल्याउने गरि दलहरुबिच छलफल सुरु भएको नेताहरुले बताएका छन् ।
यसैक्रममा दलहरुले आज संविधानको फास्ट ट्रयाक अर्थात छोटो बाटोका विषयमा छलफल गर्दैछन् । पहिलो मस्यौदामाथिको छलफलमा जनताको राय संकलनसहितको प्रक्रिया अघि बढाउने गृहकार्य भइरहेको छ ।
स्रोतका अनुसार दलबीच सदरमुकामसहित प्रत्येक निर्वाचन क्षेत्रको कुनै एक स्थानमा एकै दिन जनताको सुझाव लिने गरी ५ देखि ७ दिनको समय तोक्ने गृहकार्य भएको छ ।
दलहरूबीच प्रारम्भिक मस्यौदालाई सर्वसाधारणबीच छलफल गर्न दिइने समयसीमा, विधेयक परिमार्जनमा अपनाइने प्रक्रिया र संविधान जारी गर्ने तिथिबारे स्पष्ट सहमति हुन बाँकी छ ।