काठमाण्डौ, १९ असार ।
सभामुख सुवासचन्द्र नेम्वाङसहित प्रमुख तीन दलका शीर्ष नेता र राप्रपा नेपालबीच धर्म परिवर्तनलाई मौलिक हकमा नराख्ने सहमति भएपछि दुई दिनयता संविधानसभामा जारी रहेको अवरोध हटेको छ ।
प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र राप्रपा नेपालका अध्यक्ष कमल थापाका बीचमा आज संविधानसभा भवन बानेश्वरमा भएको बैठकमा संबिधानमा धर्म परिवर्तनलाई मौलिक हकका रुपमा नराख्ने सहमति भएसँगै जारी अवरोध हटेको हो ।
सहमतिसँगै राप्रपा नेपालले अवरोध कार्यलाई फिर्ता लिँदै संविधान लेखनलाई सहयोग गर्ने भएको छ । बैठकमा यही विषयलाई लिएर राप्रपा नेपालले हिजो र आज गरी १० घण्टासम्म सम्म संविधानसभामा नाराबाजी गरिरहेको थियो ।
यद्यपी उसको नाराबाजीका बीच पनि सभामा संविधानको मस्यौदालाई संवैधानिक सहमति दिई जनताको प्रतिक्रियाका निमित्त नेपाल राजपत्रमा प्रकाशन गरियोस् भन्ने प्रस्तावमाथि छलफल जारी रहेको थियो ।
सहमति भएपछि राप्रपा नेपालका अध्यक्ष थापाले संविधानसभाको बैठकमा विधि र प्रक्रिया स्थापित होस् भन्नाका लागि आफ्नो पार्टीले आजदेखि बैठक अवरोध गरेको र आफ्नो मागप्रति शीर्ष नेता सकारात्मक भएकाले अवरोध फिर्ता लिइएको जानकारी दिनुभयो ।उहाँले धार्मिक स्वतन्त्रताको कुरा मस्यौदामा राख्दा ध्यान दिन आग्रह समेत गर्नुभयो ।