काठमाडौ, १९ असार ।
संविधानसभा बैठकमा राप्रपा नेपालको नाराबाजी सकिएको छ । राप्रपा नेपालले गरेको अवरोध हटेपछि संविधानसभाको बैठक सुचारु भएको छ ।
धर्म परिवर्तन गर्न पाउने स्वन्त्रतालाई मौलिक हकमा समावेश गरिएको भन्दै राप्रपा नेपाललगायतका विपक्षी सभासद्ले तीनदेखि लगातार घेराउ र नाराबाजी गरेका थिए ।
सभाध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत चार दलका नेताहरु र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भएको छलफलमा अवरोध हटाउने समझदारी भएको हो ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौले पुरानो संविधानसभा र त्यतिबेलाको समितिले सर्वसम्मतिले पारित गरेको प्रावधानलाई अहिले जस्ताको तस्तै समावेश गरिएको जानकारी दिदै अहिले बाहिर ब्याख्या गरिएजस्तो धर्म परिवर्तनको स्वतन्त्रतालाई मौलिक हकमा नराखिएको बताउनुभयो ।
सिटौलाले धर्मबाट अलग हुने हकलाई धर्म परिवर्तनको स्वतन्त्रताका रुपमा व्याख्या नगर्न आग्रह गर्दै त्यस्तो अर्थ र मनासयसहित प्रावधान नराखिएको प्रष्ट पार्नुभएको छ ।
त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय स्वायत्त शासन, संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र स्थापनाको एजेन्डालाई स्थापित गर्न अन्तिम समयसम्म पनि लडिरहने प्रतिवद्धता व्यक्त गर्दै उहाले संविधानसभाको विधि र प्रक्रियालाई अवरोध नगर्ने बताउनुभयो ।