काठमाण्डौ,१७ असार ।
कृषीमन्त्री हरिप्रसाद पराजुलीले दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले कृषीमन्त्री पराजुलीको राजीनामा स्वीकृत गर्नुभएको हो । धान दिवसका अवसरमा राजधानीको मुलपानीमा आयोजित कार्यक्रममा कृर्षि मन्त्री पराजुलीले महिला माथि अशोभनिय र अमर्यादित व्यवहार गरेपछि चौतर्फी आलोचना भएको थियो ।
चौतर्फी आलोचना खेपेका मन्त्री पराजुलीले आज पार्टी अध्यक्ष केपी ओली मार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु भएको थियो । प्रधानमन्त्री कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
यसअघि महिलामाथि अमर्यादित व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले आज विहान पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराउनु भएको थियो । एमालेले पराजुलीको व्यवहारका कारण पाटीको छविमा आच पुगेको निष्कर्ष निकाल्दै फिर्ता बोलाउने बताएपछि उहाले राजीनामा दिनु भएको हो । एमालेले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।