काठमाडौ, १० असार ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नदेखि सूदूरपश्चिम हुँदै मध्यपश्चिमसम्म भीषण वर्षा हुने अनुमान गरेको छ ।
पानी पार्ने बादलको केन्द्रिकृत प्रणाली आजदेखि नेपालको दक्षिण पश्चिम भाग प्रवेश गर्ने संकेत रहेकाले केही दिन सूदूरपश्चिका जिल्लामा भीषण वर्षाको अनुमान छ ।
महाशाखाले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, डोटी हुँदै सुर्खेत, बर्दिया र बाँकेसम्मै भारी वर्षा हुने सक्ने अनुमान गरेको छ ।
भीषण वर्षाको संकेत देखिएकाले सतर्कता अपनाउन महाशाखाले गृह मन्त्रालयलगायत सम्वद्ध निकायको ध्यानाकर्षण गराइसकेको छ ।
पश्चिमी भागमा भीषण वर्षाको संकेतसंगै जल तथा मौसम विज्ञान विभागले बाढी आउन सक्ने भन्दै उक्त क्षेत्रको नदीको बहाब र पानीको मात्रा अनुगमन गर्न प्राविधिक परिचालन गरेको छ ।
यता, जेठ ३० मा पूर्वबाट प्रवेश भएको मनसुन अझै कमजोर नै रहेको महाशाखाका अर्का मौसमविद् वरुण पौडेलले बतानुभयो ।
पूर्वी भाग हुँदै मध्य भागसम्म आइपुगेको मनसुन सक्रिय हुन अझै केही समय लाग्ने महाशाखाको अनुमान छ । असार तेस्रो सातापछिमात्रै मनसुनी झरी पर्ने पौडेलको भनाइ छ ।