काठमाण्डौ,९ असार ।
काठमाण्डौ उपत्यकाका सभासद्हरुले भूकम्पपछिको उपत्यकाको संरचना निर्माणबारे तत्काल ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन । प्रधानमन्त्री सुशील कोइरालालाई उपत्यकाका १५ जना सभासदहरुले ३३ बुँदे ध्यानाकर्षणपत्र पेस गरेको हो ।
आगामी असार १० गते सम्पन्न हुने दाता सम्मेलनमा उपत्यकाको पुनःनिर्माण गर्दा यहाँका सांस्कृतिक धरोहर सुरक्षित र सुविधा सम्पन्न बनाउनेबारे दाताहरुबीच छलफल होस् भनी सभासद्हरुले प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् ।
अध्ययनका क्रममा अहिलेसम्म अनुमान भन्दा धेरै क्षति भएको पाइएको र प्रभावित क्षेत्रका भग्नावशेष तत्काल हटाउन आवश्यक रहेकाले त्यसका लागि तत्काल औजार तथा सामग्री उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको सभासद् नवीन्द्रराज जोशीले बताउनुभयो ।
भूकम्पबाट भत्केका या बस्न अयोग्य भएका घरको पुनःनिर्माण गनुपर्ने भएकाले राज्यले सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, काठमाडौँ उपत्यकाका घरको एकीकृत विकास गरिनुपर्ने, विकास बजेटको दुई प्रतिशत रकम सम्पदा पुनःनिर्माण र संरक्षणमा लगानी गर्ने नीति तय गरिनुपर्ने लगायत माग गरिएको छ ।