काठमाण्डौ,८ असार ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठक बस्नु चार दिन अगाडि नै अध्यादेशबाट प्राधिकरण गठन गर्न खोजेर सत्ता पक्षले संसद्लाई छल्न खोजेको आरोप लगाउनु भएको छ ।
गत बैशाख १२ गतेको बिनासकारी भूकम्पमा परी घाइते कलाकार घनश्याम गौतम र उनकी श्रीमती युगज्योतिलाई भेटेपछि सञ्चारकर्मीसँग दाहालले असार ११ गते संसद् बैठक आह्वान गरिएको अवस्थामा संसद्बाट पारित नगरी हतारिएर अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउनु गलत भएको बताउनु भयो ।
उहाले सर्वोच्च अदालतले गरेको निर्णयले संविधान निर्माणमा कुनै असर नपर्ने बताउनु भएको छ । उहाले विपक्षीलाई नबोलाई अदालतले हतारबाट आदेश दिएको भन्दै सो आदेश सच्याउन अदालत नै जान सकिने बताउनु भयो ।
कलाकारहरुले उपलब्ध गराएको खाद्यान्न, कम्बल, त्रिपाल लगायत सामग्री अध्यक्ष दाहालले कलाकार गौतम परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । कलाकारद्वय र अन्यलाई पनि उपचारमा समस्या आए आफ्नो पहलमा उपचार गरिदिने आश्वासन दिनुभएको छ । गौतमदम्पती हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’का कलाकार हुन ।