काठमाडौं, ७ असार ।
राष्ट्रपति डाक्टर रामवरण यादवले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी अध्यादेश स्वीकृत गर्नुभएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति डाक्टर यादवसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम सो अध्यादेश स्वीकृत भएको जनाइएको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि मन्त्रिपरिषद्ले भूकम्पबाट भएको क्षतिका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
अध्यादेशअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति गठन हुने छ । समितिमा प्रधानमन्त्रीले चार मन्त्री र तीन विज्ञलाई सदस्य तोक्ने छन् भने मुख्यसचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदेन सदस्य रहने छन ।