काठमाडौं, ६ असार ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गर्ने सम्बन्धी अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति डा. रामवरण यादव समक्ष सिफारिस गरेको छ ।
मन्त्रीपरिषदको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्राधिकरण गठन सम्बन्धी अध्यादेशको मस्यौदा स्वीकृत गरी राष्ट्रपति डा. यादव समक्ष पठाउने निर्णय गरेको हो । राष्ट्रपति डा. यादवले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण प्राधिकरण गठन हुने छ ।
प्राधिकरणमा प्रधानमन्त्रीले मनोनित गरेका चार जना मन्त्री र तीन जना विज्ञ रहने छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र पाँच जना सचिव प्राधिकरणका पदेन सदस्य हुने छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले एकीकृत नेकपा माओवादीको असहमतिका वाबजुद अध्यादेशको मस्यौदालाई अन्तिम रुप दिएको थियो ।