गोरखा, ४ असार ।
लाप्राकका भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमले कुहिएको चामल वितरण गर्न लगेको पाइएको छ ।
एक सातादेखि गाउँमा ओसारेको चार सय ७७ बोरा चामलमध्ये एक सय २० बोरा कुहिएको भेटिएको त्यहाँका पूर्वगाविस अध्यक्ष बिसबहादुर गुरुङले जानकारी दिए ।
कुहिएको भेटिएपछि विश्व खाद्य कार्यक्रमको गोदाममा चामल थन्क्याइएको उनले बताए । कुहिएको सट्टामा सद्दे चामल लगिदिने प्रतिवद्दता विश्व खाद्य कार्यक्रमले स्थानीयसँग गरेको छ ।
‘ओसारिसकेर मंगलबारदेखि वितरण गर्न थालेको थियो,’ बिसबहादुरले भने,‘अनि हामीले उनीहरुका कर्मचारीलाई कुहिएको चामल देखायौं अनि त्यो चामलको साटो सद्दे चामल पठाइदिने आश्वासन दिए । सद्दे जति बाड्यौं , कुहिएको जति थन्क्यायौं ।
’ डब्लुएफपी लेखेको भन्दा ओम लेखेको बोराको चामल बढी कुहिएको भेटिएको उनले बताए, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।