कठमाण्डौ, २ असार ।
संविधानसभाको मस्यौदा समितिले उपसमितिहरुले तयार पारेका मस्यौदालाई एकीकृत रुप दिन कार्यदल गठन गरेको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सभापति कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सबै दलका सभासद सदस्य छन् ।
समितिले आफूले गठन गरेका पाँच वटा उपसमितिहरुले अलग अलग मस्यौदा पेश गरेपछि ती मस्यौदालाई एकीकृत रुप दिन कार्यदल गठन गरेको हो ।
समितिका सदस्य नरहरि आचार्यले कार्यदलले प्रारम्भिक मस्यौदा तयार पार्ने र प्रारम्भिक मस्यौदामाथि समितिमा विषयगतरुपमा छलफल हुने बताउनुभयो ।
समितिले उपसमितिहरुले टुंग्याउन नसकेका विवाद समाधानका लागि शीर्ष नेताको सहयोग लिने निर्णय पनि गरेको छ । शीर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल गरेर समितिले सबै विवाद टुंग्याउने आचार्यले बताउनुभयो ।
संविधान संशोधन, संक्रमणकालिन व्यवस्था, न्यायधीशको पुनर्नियुक्ति, प्रस्तावना लगायतका विषयमा दलहरुबीच विवाद छ ।