काठमाडौ, ३१ जेठ ।
लामो समयदेखि एकिकरणमा जुटेको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र खस समावेशी राष्टिय पार्टीबिच आज एकता भएको छ ।
राजधानीको नयाँबजार स्थित नेपाः पार्टी प्यालेसमा आज एक औपचारिक कार्यक्रममका बीच नयाँ पार्टीको घोषणा गरीएको संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जानकारी दिनु भएको छ । एकिकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिएको संघिय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
१ सय ९६ सदस्यीय केन्द्रिय समिति रहने नयाँ पार्टीको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ । यस्तै वरिष्ठ नेता र संसदीय दलका नेताको जिम्मा अशोक राइले लिनुभएको छ । सहअध्यक्षमा संघीय समाजवादीका वर्तमान महासचिव राजेन्द्र श्रेष्ठ रहनु हुनेछ ।
५ उपाध्यक्ष रहने कार्यसमितिमा फोरम नेपाल र संघीय समाजवादीबाट दुई, दुई र खस समावेशीबाट एक उपाध्यक्ष रहेका छन । एकिकरण भएसँगै नयाँ पार्टी १५ सभासद सहित संविधान सभाको पाँचौ ठुलो दल बनेको छ । नयाँ बन्ने दलले १६ बुँदे सहमतिको विपक्षमा रहेका दलहरुसँग मिलेर अघि बढ्ने रणनिति तय गरेको छ ।