काठमाडौं,३२ जेठ ।
प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आज एकै दिन ९५ लाख ८ हजार एक सय ७३ रुपैया जम्मा भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बिभिन्न संघसंस्थाले दिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सहयोगको लागि दिइएको रकमबाट वितरण गरिने राहतको निगरानी गर्न सबैमा आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिन सरकार सचेत रहेको भन्दै दुरुपयोग गर्नेहरुलाई हदैसम्मको कारबाही गर्ने बताउनु भयो ।
उद्धार कोषमा आज एकै दिन ९५ लाख ८ हजार एक सय ७३ रुपैया जम्मा भएको छ । भारतको प्रदीप फोस्फेट लिमिटेडले १८ लाख ५० हजार , भारतको ज्वारी एग्रो केमिकल लिमिटेडले १६ लाख सहयोग गरेको छ ।
यस्तै नेपाल वायुसेवा सञ्चालक संघले १२ लाख १६ हजार ३ सय ११ रुपैयाँ, लमही नगर विकास समिति दाङले १० लाख रुपैयाँ, अरनिको विकास बैकले ५ लाख ४० हजार ८ सय रुपैयाँ, प्रयास फाउण्डेशनले ५ लाख रुपैयाँ र गुठी संस्थानले ४ लाख ३८ हजार ८ सय ६२ रुपैयाँ ३७ पैसा सहयोग गरेको छ ।
यसैगरी नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिले १ लाख ६० हजार रुपैयाँ, प्रकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार १ सय ११ रुपैयाँ र घरबहाल उपभोक्ता मञ्च चितवनले १ लाख १ हजार १ सय रुपैयाँ उद्धार कोषमा आज बिहान जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग जम्मा हुने क्रम जारी छ ।