काठमाडौ, जेठ ३२ ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले मुलुकभरका १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
विनाशकारी भूकम्पका कारण ती सडक चिराचिरा परेकाले वर्षातका समयमा अति जोखिमपूर्ण हुने मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सडक विभाग र विशेषज्ञ टोलीले १ महिना लगाएर ती सडकको अध्ययन गरेको थियो । टोलीले उक्त जोखिमपूर्ण सडकहरुमा विशेष गरी वर्षातको समयमा अतिसावधानी अपनाउन पनि सुझाव दिएको छ ।
सडक विभागका महानिर्देशक माधव कार्कीले वर्षाअघि नै पहिरोको उच्च जोखिम रहेका सडकमा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बताउनु भयो ।
वर्षातमा बाटो सुचारु राख्न र यात्रीलाई सुरक्षित स्थानमा र्पुयाउने तयारीबारे छलफल भइरहेको छ । विभागले ५ विकल्प सडकबाट यातायात सुचारु गर्ने तयारी गरेको उहाँको भनाई छ ।
अरनिको राजमार्ग खण्डको दोलालघाट–बाह्रबिसे–कोदारी सडक, लामोसाँघु खण्डको चरिकोट–जिरी सडक, तामाकोसी खण्डको मन्थली–खुर्कोट सडक अति जोखिमपूर्ण छन् ।
प्रतिवेदनअनुसार टोखा–छहरे सडक, पासाङ ल्हामु राजमार्गको बालाजु–ककनी–त्रिशूली सडक, त्रिशूली खण्डको धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडक र पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिङ–डुम्रे सडक पनि भूकम्पले चिरा परेको छ ।
यस्तै गोर्खाको एघारकिलो–बारपाक सडक, मुग्लिन सडक, साँखु– भोटेचौर सडक, सिद्धार्थ राजमार्ग, पोखरा सडक खण्डको बागलुङ–बेनी–जोमसोम सडक र हेटौंडा सडक खण्डको भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा पनि पहिरोको जान सक्ने सम्भावना छ ।