अछाम, ३१ जेठ।
अछाम जिल्लामा रहेको लेकालि भेगको अधिकाँश खेतियोग्य जमिन प्रयोगविहिन (बाँझै) रहेको पाईएको छ ।
अधिकाँश गाविसका उच्च लेकाली भेगमा रहेका फाँटहरु बर्षौदेखी बाँझै देखिनेगरेका हुन ।
कृषि पेशाप्रतिको घट्दो आर्कषण र बसाईसराई आदि कारणले यो अवस्था आएको जाँनकारहरुको भनाई रहेको छ ।
अछाम जिल्लाको कुल त्रिपन्न हजार हेक्टर खेतियोग्य जमिनमा ३४ हजार हेक्टर मात्र प्रायोगमा आएको तथ्यंक रहेको छ भने जिल्लाका सबै ठाँउमा गरी झण्डै ११ हजार हेक्टर खेतियोग्य जमिन प्रयोगबिहिन अवस्थामा अलपत्र रहेको छ ।
जिल्लामा सबैजसो गाविसका लेकाली भेगमा रहेको जमिन बाँझो रहेको पाईएको छ ।
जिल्लाको कमलबजार, तोषिको बाँसकाडा, धमालिको तितौरा, भैरवस्थानको लेकाली भेगहरु, कुन्तिवण्डालीको लेकाली भेगहरु, मंगलसेन, ओलिगाँउ, जनालिवण्डाली लगायतका गाविसका लेकालि भेगका खेतियोग्य जमिन प्रयोगमा आँउन नसकिरहेको पाईएको छ ।
यस्तै पायल गाविसको कृष्णनगर, लुंग्राको सल्लिकोट, सिउडिको मौरेलेक लगायतका अधिकाँश क्षेत्रमा हजारौं खेतियोग्य जमिन प्रयोगमा आँउन नसकेको हो ।
बिगत केही वर्ष पहिले कोदो, मकै लगायत कोषेवालीको राम्रो उत्पादन हुने लेकाली जग्गाहरु बसाईसराई, अन्य पेशाप्रतिको आर्कषण, कृषकको आफ्नो पेशाप्रतिको लगावमा कमी, लेकाली ठाँउमा पानीको अभाव आदि कारणले उपभोग गर्न छाडिएको स्थानिय बताँउछन ।
जिल्लामा हाल ५ हजार ७५ मेट्रीक टन खाद्यान्न अपुग रहदै आएको अवस्थामा लेकालि भेगमा रहेको हजारौं हेक्टर खेतियोग्य जमिन सदुपयोग गर्नसके आत्मनिर्भर र समृद्ध बन्न सकिने जाँनकारहरु बताँउछन ।
लेकाली भेगमा रहेको बाँझो जग्गामा खाद्यान्न बालिमा मकै, कोदो, गहुं र वर्षे आलु, मसला खेती लगायत जडिबुटी खेती गरेर सदुपयोग गर्न सकेमा कृषिमा आत्मनिर्भर र समृद्ध हुन सकिने मालिका विकास संघ नेपालका दिगो कृषि विकास परियोजना संयोजक कृष्ण रावलले बताए ।
त्यसका लागि राज्यले बढ्दो युवाशक्तिको बीदेश पलाएनलाई रोक्दै एथेष्ट कार्यक्रमहरु लागु गर्न जरुरी रुहेको उनको भनाई छ ।
यता जिल्ला कृषि विकास कार्यालय अछामले भने जिल्लामा कृषि उत्पादनमा प्रयोगमा आँउन नसकिरहेको खेतियोग्य जमिनलाई उपायोगमा ल्याँउनका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको छ ।
जिल्ला कृषि विकास कार्यालय अछामका बागवानी विकास अधिकृत डम्मर सिंह भाटका अनुसार कार्यालयले लेकालि भेगमा रहेको बाँझो जग्गालाई मध्यनजर गर्दै हिउदे फलफुलका बिरुवा बितरण कार्य थालनी गरेको छ ।
कार्यालय मार्फत गतवर्ष झण्डै ४ हजार बढी ओखरका बिरुवा बितरण गरिसकिएको र आगामि वर्षको लागि पनि योजना बनाईएको भाटको भनाई छ । उनले लेकाली भेगमा हिउदे फलफुलका अलावा खाद्यान्न बाली मकै र कोषेवालीहरुको राम्रो सम्भावना भएको बताए ।
जिल्लाको लेकाली भेगको खेतियोग्य जमिन बाँझो हुनुको मुख्य कारण बसाईसराई भएकाले त्यस्ता क्षेत्रहरुमा कृषिका आर्कषक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताएका छन ।
हाल प्रयोगमा नरहेको जमिनको केही क्षेत्रमा भएपनि आधुनीक कृषि प्रणालिवाट खेती गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने जिल्ला कृषि विकास कार्यालय अछामको भनाई रहेको छ ।

