काठमाडौ, २९ जेठ ।
नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा माओवादीले भुकम्प प्रभावित जिल्लाहरुमा राहत वितरण तथा पुर्ननिमार्णका कार्यका लागि तेस्रो चरणको अभियान सुरु गरेको छ । माओबादीले बैसाख १२ गतेको विनासकारी भुकम्पबाट क्षतिग्रस्त १७ जिल्लामा जारी राखेको अभियानमा आजदेखि नयाँ टोलि पठाएको हो ।
काठमाडौको चोभारमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै महाँसचिव नेत्र विक्रम चन्द विप्लवले बिपत्तको बेला राज्यले सम्पुर्ण खर्च गरेर भएपनि नेपाली जनतालाई बिपत्तीबाट मुक्त गराउनु पर्ने बताउनु भयो ।
उहाँले भुकम्प प्रभावित १७ जिल्लामा राहत वितरण तथा पुर्ननिर्माण कार्यका लागि तेस्रो चरणको अभियानमा जाने टोलीलाइ निरन्तर नेपाली जनताको साथमा रहेर काम गर्न निर्देशन दिनुभएको छ ।
बिप्लबले दोस्रो चरणको अभियान पुरा गरि फर्किएका कार्यकर्ताहरुलाई धन्यबाद दिदै निरन्तर सहयोगी काममा जुट्न आग्रह पनी गर्नुभयो । सम्मान स्वरुप अभियान पुरा गरि फर्किएका कार्यकर्ताहरुलाइ प्रमाणपत्र दिइ विदाइ समेत गरीएको छ ।
पुरानो टोलीलाइ विदाइ गरिए संगै माओवादीले प्रभावित क्षेत्रमा आजबाट तेस्रो चरणको अभियानका लागि नया टोली खटाएको हो । विनाशकारी भुकम्प पश्चात माओवादीले भुकम्प प्रभावित १७ जिल्लामा राहत वितरण र पुर्ननिर्माण कार्य जारी राखेको छ ।
यसैबिच नेकपा माओवादीले भुकम्पपछि मुलुकभरि बाढी पहिरोको समस्या आएको भन्दै यो संकटापुर्ण अवस्थामा सबैको ध्यान त्यता केन्द्रित गर्न आग्रह गरेकोे छ । नेकपा माओवादीका महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुराको ध्यानाकर्षण गराउनुभएको हो ।
महासचिव विप्लवले आफ्नो सम्पूर्ण पार्टीलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन भन्दै पार्टीको पूर्वाञ्चल ब्यूरोलाई ताप्लेजुङका पहिरो पीडितहरुको उद्धारमा जुट्न निर्देशन दिनुभएको छ ।