काठमाडौं, २८ जेठ ।
नेपाली सेनाले टेन्डर प्रक्रिया बिना नै इजराइलबाट एक हजार भन्दा बढी संख्यमा हतियार खरिदको प्रक्रिया अघि बढाएको छ ।
सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा बिना टेन्डर गभरमेन्ट टु गभरमेन्ट (जीटुजी) प्रणाली मार्फत करिब ३४ करोडको गलिल राइफल, गोलीगठ्ठा र त्यसका लागि आवश्यक पर्ने पार्टपुर्जा ल्याउन इजरायली दूतावास मार्फत प्रक्रिया अघि बढाएको हो ।
रक्षामन्त्रालयका सचिव इश्वरी प्रसाद पौड्यालले सेनाको नियमित बजेटबाटै हतियार किन्न लागेको बताउनु भयो ।
उहाका अनुसार मन्त्रालयले सेनाको प्रस्ताव अनुरुप मन्त्रीस्तरीय निर्णयबाट जीटुजी प्रणालीबाट किन्नका लागि स्वीकृति प्रदान गरेको हो ।
सैनिक उच्च स्रोतका अनुसार ३४ करोड ६८ लाख रुपैयाँ बराबारको एक हजार भन्दा बढी थान हतियार र त्यसको पार्टपुर्जा बिनाप्रतिस्पर्धा जिटुजी प्रणाली मार्फत खरिद गर्न लागिएको हो ।
सार्वजनिक खरिद ऐन अनुसार जीटुजी प्रणालीबाट खरिद गर्दा पनि नेपालस्थित ३ वटा विदेशी दुतावासबाट स्फेसिफिकेसन लिई सस्तोमा उपलब्ध गराउनेसँग खरिद गर्नुपर्ने प्रावधान छ ।
तर इजराइलसँग सीधा सम्झौता गरी खरिद प्रक्रिया अघि बढाएकाले उक्त ऐन व्यवस्थाको समेत रक्षा र सेनाले पालना गरेको देखिदैन ।
सैनिक प्रवक्त सहायकरथी जगदिशचन्द्र पोखरेलले प्रक्रिया सहज हुने भएकाले जीटुजी प्रणालीबाट हतियार खरिदको प्रक्रिया अघि बढाएको बताउनु भयो ।
गलिल इजराइलमै निर्माण हुने भएकाले उसैसँग जीटुजी गर्नु उपयुक्त हुने सेनाको भनाई छ ।