काठमाण्डौ,२७ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संस्थापक नेता तथा पार्टीका समानान्तर अध्यक्ष पद्मसुन्दर लावतीको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको निधन भएको हो।
बिहानै अचेत भएपनि अस्पतालले पारिवारिक सदस्यको सल्लाहमा अहिले केहीबेर अघि मात्र मृत घोषणा गरेको हो।
नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर मंगलबार मात्र स्वदेश फर्किएका लावतीलाई बुधबार जमलस्थित ग्रान्डीसीटी अस्पतालमा भर्ना गरिएको थियो। बुधबारदेखि खाना खान छोडेका लावतीलाई शनिबार नर्भिक अस्पताल भर्ना गरिएको थियो।
पञ्चायतकालदेखि बारम्बार मन्त्री हुँदै आएका ७६ बर्षीय लावती पछिल्लो समय भने राप्रपा नेपालको सहअध्यक्ष थिए ।
०२९ सालमा उद्योग वाणिज्य सहायक मन्त्री, २०३४ सालमा पूर्ण अधिकार सहितको स्वास्थ्य राज्यमन्त्री, उद्योग र सञ्चार मन्त्री, ०३८ सालको चुनाव जितेर गृह र सामान्य प्रशासन मन्त्री भएका लावती ०४३ सालमा फेरि राष्ट्रिय पञ्चायत सदस्य जितेर ०४५ सालमा भूमिसुधार मन्त्री बनेका थिए।
पार्टी संवैधानिक राजतन्त्र र सनातन हिन्दुराज्यको अवधारणाबाट पछि हट्न खोजेको भन्दै अध्यक्ष कमल थापाको बिरोध गरेपछि लावती पार्टीबाट निस्कासनमा परेका थिए । राप्रपा नेपाल नै नाम गरेको समानान्तर पार्टी सञ्चालन गर्दै आएका लावती नयाँ पार्टी खोल्ने प्रक्रियामा थिए ।