काठमाडौ, जेठ २४ ।
गत बैशाख १२ को विनाशकारी भूकम्प यता ४३ दिनको अवधिमा झन्डै साढे २० हजार वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बैशाख १२ गते ११ बजेर ५६ मा मिनेटमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि ४ रेक्टर स्केल भन्दा माथिका ३ सय २ वटा पराकम्प गएका छन् ।
३ सय २ मध्ये ६ रेक्टर भन्दा माथिका ४ वटा पराकम्प गएको केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनु भयो । ६ रेक्टरमाथिका पराकम्प गोरखा र दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका थिए ।
पछिल्लो ४३ दिनमा सबै भन्दा बढी दोलखा केन्द्रविन्दु बनाएर पराकम्पन गएका छन् । त्यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रे र काठमाडौंमा पनि बढी केन्द्रविन्दु बनेर पराकम्प गएको भट्टराईले बताउनु भयो ।
बैशाख १२ पछि २३ जेठसम्ममा गोरखादेखि ओखलढुंगासम्मका जिल्लाका विभिन्न स्थानमा २ रेक्टर भन्दा माथिका तथा ४ रेक्टरभन्दा तलका २० हजारभन्दा बढी पराकम्प गएको भुकम्पविद् भट्टराईको भनाई छ ।