काठमाडौं, जेठ २४ ।
काठमाडौं उपत्कासहित पश्चिम तराईका जिल्लाहरुमा गर्मी अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको छ । अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने संभावना रहेको उहाँको भनाई छ । उहाँका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै छिटपुट वर्षा भएपनि अझै केही दिन दिउँसो चर्को घाम लाग्ने सम्भावना छ । यस्तै काठमाडौं उपत्यकाको तापक्रम हिजो तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो ।
आज पनि त्यसकै हाराहारीमा रहने अनुमान गरिएको छ । हिजो भैरहवाको तापक्रम पनि यो वर्षकै उच्च ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । आज पूर्व र मध्य क्षेत्रको पहाडी भेगमा बेलुकीपख मेघगर्जन सहित क्षणिक वर्षाको संभावना छ । पूर्वमा स्नानिय वायु सक्रिय भएकाले त्यहाँ तापक्रम नबढ्ने अनुमान छ ।
यस्तै मौसमविद् पौडेलका अनुसार यसपाली पनि मनसुन भित्रन केहि दिन लाग्ने भएको छ । सामान्यतया जुन १० मा मनसुन सुरु हुने भएपनि यसपाली एक दुई दिन ढिला हुने अनुमान गरिएको हो । भारतको दक्षिण पूर्वी वायु नेपालमा आएपछि मनसुन सुरु हुन्छ ।
अहिले त्यो मनसुनी वायु दक्षिण पूर्वी बंगालको खाडीमा आइपुगेपनि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ । यो नेपाल आइपुग्न अझै केहि दिन लाग्ने देखिएकाले यसपाली पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको मौसमविद् पौडेलले बताउनुभयो ।