काठमाडौ , २२ जेठ ।
नेपाल प्रहरीले सशस्त्र प्रहरीको प्रस्तावित नियमावलीमा उल्लिखित सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्न दिने अधिकार तत्काल हटाउनुपर्ने माग गरेको छ ।
आफ्नो दृष्टिकोणसहित गृह मन्त्रालयलाई पठाइएको पत्रमा नेपाल प्रहरीले अर्धसैनिक संरचनाको सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार नभएको उल्लेख छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम र गृहसचिव सूर्यप्रसाद सिलवाललाई छुट्टाछुट्टै पत्र दिएका हुन ।
प्रस्तावित नियमावलीमा पक्राउ पुर्जी जारी गर्नेदेखि लिएर सशस्त्र प्रहरीको छुट्टै अदालत गठन गरी त्यहींबाट मुद्दाको किनारा लगाउनेसम्मको व्यवस्था छ। त्यसको नेपाल प्रहरी र मानवअधिकार संघसंगठनले खुलेरै विरोध गरेका छन ।
प्रहरीमहानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत उच्च प्रहरी अधिकारीहरूको एक टोलीले बिहीबार साँझ पनि गृह मन्त्रालयमा गृहमन्त्री गौतमलाई भेटी सशस्त्र प्रहरीको नियमावलीमा विवादास्पद प्रावधानबारे छलफल गरेका थिए ।
प्रहरीमहानिरीक्षक अर्यालले अर्ध सैन्य चरित्रको सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गर्न नमिल्ने भन्दै उक्त प्रावधान हटाउन गृहमन्त्री गौतमलाई आग्रह गरेको स्रोतले बतायो। विवादित नियमावली मन्त्रिपरिषद्को विधेयक समितिमा छ ।
नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्नसक्ने अधिकार कानुनविपरीत हुने उल्लेख गरेको छ ।
नेपाल प्रहरीले आफ्नो क्षेत्राधिकार नभएको कार्यालयमा प्राप्त भएको अपराधको सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइरहेको अवस्थामा छुट्टै संगठनले स्वयं पक्राउ पुर्जी जारी गर्न नमिल्ने प्रहरीको दाबी छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।