काठमाण्डौा, जेठ २१ ।
सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीबीच राज्य पुनर्संरचनाबारे ६ प्रदेश बनाएर अघि बढ्नेमा सहमति भएको छ ।
एमाले संसदीय दलको सिंहदरबारमा आज बसेको दुई दलको संयुक्त बैठकले प्रदेश संख्या ६ बनाउनेबारे सहमति गरेको हो । यद्यपि ६ प्रदेश गठनको आधार प्रस्तुत गरेर मात्रै प्रदेशको संख्या टुंगो लगाउने बारेमा पनि सहमति भएको छ ।
त्यसैगरी निर्वाचन प्रणालीको बारेमा पनि दुई दलबीच छलफल भएको छ । राष्टिय सभा र प्रतिनिधि सभा दुवै राख्ने/नराख्ने , प्रत्यक्ष निर्वाचित र समानुपातिको रेसियो लगायत बारेमा पनि दुईदलले छलफल गरेका छन ।
एमालेले प्रत्यक्ष निर्वाचनको रेसियो बढी राख्नुपर्नेमा जोड दिएको थियो भने एकिकृत माओवादीले सबैको समान सहभागिताकको सुनिश्चितताको लागि समानुपातिको संख्या बढी राख्नुपर्ने तर्क गरेको छ । यद्यपि दुई दलबीच भएको सहमतिका विषयमा पुन नेपाली कांग्रेससंग छलफल गरेपछि मात्रै टुंगो लगाईने भएको छ ।
प्रमुख दल नेपाली कांग्रेस, एमाले, एकिकृत नेकपा माओवादी र मधेसी मोर्चाको संयुक्त बैठक बस्नु अघि एमाले र एकिकृत माओवादी छलफलमा जुटेका हुन् । यसअघि हिजो सांझ नेपाली कांग्रेस र एमालेले छलफल गरेका थिए ।