काठमाडौं, २१ जेष्ठ ।
वीरगन्जबाट प्रहरीले बिहिबार साँझ लागु औषध खैरो हेरोइन सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको मुग्लिङ ४ दारचोक निवासी अग्नी पाण्डे र कवीलास ८ निवासी कृष्ण बहादुर गुरुङ रहेका छन् ।
उनिहरुको साथबाट १ सय ५० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भारतको रक्सौलबाट ना.३३.प ५९५२ नम्बरको मोटरसाइकलमा सवार भइ वीरगंज आएका दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको अपराध अनुसन्धानको विशेष टोलीले खैरो हेरोइन सहित पक्रेको हो ।
बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले मोटरसाइलकमा चेकजाँच गर्दा मोटरसाइकलको फिल्टर भित्र कागजमा पोको पारी लुकाई राखेको अवस्थामा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक बीरबहादुर ओलीले बताए ।
पक्राउ परेका दुवै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ओलीले जानकारी दिए । प्रहरीले गत सोमबार पनि पर्साकै मधुवन मथवल गाविस वडा नम्बर ४ बाट लागु औषध खैरो हेरोइन सहित दुइ जनालाइ पक्राउ गरेको थियो ।
सोमबार पक्राउ पर्नेमा पर्साको सुपौली ४ निवासी कृष्ण महरा चमार र मधुवन मथवलका राज कुमार महरा रहेका छन् । उनिहरुको साथबाट २९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी नायव उपरिक्षक बीरबहादुर ओलीले बताए ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय एकटाँगाबाट आइतवार राति बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले दुवै जनालाइ मधुवन मथवालबाट खैरो हेरोइन सहित पक्रेको हो ।
दुवै जनालाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रनाउ ओलीले बताए ।