महेन्द्रनगर, २१ जेठ ।
सेन्ट्रल मिडिया प्रा.लि.(सिएमजी क्लव) ले भुकम्पपीडित परिवारलाई ३५ लाख रुपैँया बराबरको राहत सामाग्री प्रदान गरेको छ ।
बैशाख १२ गते गएको विनासकारी भुकम्पले क्षतिग्रस्त काठमाडौ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, र काभ्रेका भूकम्प पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराएको हो ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज पत्रकार सम्मेलन गरेर क्लवका अध्यक्ष तथा संविधानसभा सदस्य नरेन्द्र शाहले छ जिल्लाका भूकम्प पीडितहरुलाई ३५ लाख रुपैयाँ बराबरको जस्तापाता र टेन्ट सहयोग गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चार सय बन्डल जस्तापाता र एक सय थान टेन्ट वितरण गरिएको छ । शाहले तराई मधेश सद्भावना पार्टीका तर्फबट सभासद भएपछि २०७० साल माघ महिनाबाट गत बैशाखसम्म पाएको तलव भत्ता र क्लवले कमाई गरेको पैसाबाट ३५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयोग गरेको बताउनु भयो ।
क्लवले यस अघि पनि महेन्द्रनगरमा २०६९ सालमा महाकाली नदीमा आएको बाढीबाट प्रभावितहरुलाई दुई लाख रुपैयाँ बराबरका भाँडाकुँडा सहयोग गरेको थियो ।