आलोक माबोहाङ् लिम्बू
२१ जेष्ठ,ताप्लेजुङ ।
ताप्लेजुङको सदरमुका फुङलिङ बजारका अग्नि पीडितलाई आज एक कार्यक्रमबीच नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपा माओवादी, नेपाली जनप्रगतिशील मोर्चा बहराईनले जिल्ला संगठन समिति,ताप्लेजुङ मार्फत १ लाख ३० हजार रूपैयाँ नगद सहयोग गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलालाई नेकपा माओवादी, ताप्लेजुङका सचिव राजकुमार चुँडालले १ लाख ३० हजार रूपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष भीम केरुङलाई उदृत गर्दै सचिव चुँडालले कार्यकर्ता र शुभचिन्तकबाट सो सहयोग रकम संकलन गरेको बताएको छ ।
सहयोग रकम लिँदै प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाले अग्नि पीडितको सहयोगार्थ यस जिल्लाबाट संयोजन गरेकोमा नेकपा माओवादी जिल्ला संगठन समिति, ताप्लेजुङ र ताप्लेजुङबासीको दुःखलाई बुझेर सहयोग संकलन गर्ने संस्था नेपाली जनप्रगतिशील मोर्चा बहराईन प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
गत चैत्र ९ गते साँझ ६ बजेर ३० मिनेटदेखि लगातार ३ घण्टासम्म आगो नियन्त्रण गर्न नसक्दा ताप्लेजुङको फुङलिङ बजारको तोक्मे डाँडामा झण्डै आधा अर्व बराबरको धनमाल जलेर नष्ट भएको थियो ।
