काठमाण्डौ, १९ जेठ ।
मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ४७८३ नंको मेट्रो डिलक्सले दक्षिणबाट उत्तरतर्फ गइरहेको मे २ प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक उर्लाबारी– ३ निवासी १९ वर्षीय सवीन पौडेलको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाईते बनेका पौडेलको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । सोही मोटरसाइकलको पछाडिपट्टि बसेका उर्लाबारी– ३ निवासी २८ वर्षीया उमा निरौला र इलाम, साखफारा–५ निवासी २६ वर्षीय चित्र राई घाइते भएका छन् । उनीहरुको उर्लाबारी– २ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
बस तथा बसका चालक विराटनगर– २ निवासी ४८ वर्षीय सोमनाथ नेपाललाई नियन्त्रणमा लिएको छ ।