काठमाडौं, १६ जेठ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पपछिको अवस्था सहजीकरण गर्नका लागि एक विशेष अधिकृत नियुक्त गर्ने भएका छन् ।
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा शुक्रबार प्रधानमन्त्री मोदीले उक्त जानकारी दिएका हुन् ।
मोदीको भनाइ उद्धृत गर्दै उपाध्यायले भने,‘म तपाईंलाई एकजना सम्पर्क व्यक्ति दिनेछु, जसले भूकम्पीय क्षतिपछि उपयुक्त अवस्थामा निर्माणका लागि नेपाल सरकार र भारतबीच समन्वयको काम गर्नेछन् ।’
मोदीले स्पष्ट गरेको भारतीय सहयोग नेपाल सरकारले कुन रुपमा परिस्थिति अगाडि बढाउने भन्ने निर्णय गरेपछि मात्र आउनेछ ।
उपाध्यायका अनुसार मोदीले गहिरो चासो देखाउँदै नेपालबारे उनी निकै चिन्तित रहेको र भारतबाट प्राप्त हुने सबै सहयोग नेपालको आवश्यकताअनुसार हुने बताए ।
राजदूत उपाध्यायले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास सात रेसकोर्स रोडमा मोदीसँग करिब १५ मिनेट शिष्टाचार भेट गरेका थिए ।
संकटको यो घडीमा नेपालीलाई नआत्तिन सल्लाह दिँदै भूकम्पपछिको अवस्थाबारे आफू चिन्तित रहेको पनि मोदीले बताए।
’वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा नेपाल सरकारले लिने निर्णयमा सहयोग र्पुयाउनमा हामी लाग्नेछौं’, मोदीलाई उद्धृत गर्दै राजदूत उपाध्यायले भने।
दिल्लीस्थित नेपाली दूतावासबाट जारी विज्ञप्तिमा मोदीले भूकम्पीय ताण्डवबाट पुगेको क्षतिसम्बन्धी लेखाजोखाबारे राजदूत उपाध्यायसँंग जानकारी मागेका थिए ।
राजदूत उपाध्यायले आगामी जुन ५ सम्म त्यसको लेखाजोखा प्राप्त हुने जानकारी प्रधानमन्त्री मोदीलाई दिए। करिब १० अर्ब डलर खर्च हुने अनुमान गरिएको पुनर्निर्माणमा सहयोग र्पुयाउने आश्वासन भारतले दिँदै आएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।