जिल्ला पशुसेवा कार्यालयले सोमवार पश्चिम सुर्खेतको कुनाथरी–१ चेपाङमा पशु स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा कार्यालयका सहायक लेखापाल वीरेन्द्रनगर–११ निवासी विर्खबहादुर मल्ल सहभागी थिए।
बिहानैदेखि शिविरमा पशुको उपचार भइरहेको थियो । उनी आफ्ना सहकर्मीहरुसँग हाँस्दै रमाउँदै पशुको उपचारमा सक्रिय भए। शिविर सकेर खाना खाने समयमा साथीहरुसँग उनले भेरीमा पौडी खेल्ने योजना बनाए ।
खाना खादै उनले साथीहरुलाई भने,‘गर्मी बढ्न थाल्यो, अब सबै मिलेर पौडी खेल्नुपर्छ ।’ तर, उनका अन्य सहकर्मीहरु पौडी खेल्न तयार भएनन् । साथीहरुको मनसाय बुझेपछि उनले ठट्टा गर्दै थपे, ‘केही छैन तपाईहरु पौडी नखेलेपनि, बरु म एक्लै खेल्छु तपाईंहरु नदीको तल्लो भागमा गएर बस्नुस् । किनकी यदी म बगिहाले भने तपाईंहरुले छोप्नुपर्छ ।’
उनले साथीहरुसँग गरेको यही ठट्टा वास्तविकतामा परिणत भइदियो । खाना खाई सकेपछि नदीमा पौडी खेल्न गएका उनी दिउँसो करिब एक बजे भेरी नदीमा बगेर वेपत्ता भए।
पौडी खेल्दै रमाउँदै गरेका उनले कार्यालयकै पशु चिकित्सक वीरेन्द्रनगर –५ चिसापानी निवासी चित्रबहादुर चन्दलाई पनि पौडी खेल्न आग्रह गरे । उनको आग्रहपछि चन्द पनि पौडी खेल्न तम्सिए । पौडी खेल्दै गर्दा उनीहरुबीच नदी पार गर्ने सल्लाह भयो । त्यही सल्लाह अनुसार नदी तर्ने तयारीसहित मल्ल पौडी खेल्दै अगाडि बढे । चन्द भने निकै पछि छोडिए । नदीको बीचभाग काट्नै लाग्दा मल्लले एक्कासी हात उठाउँदै ‘बचाउ, बचाउ’ भने ।
नदी किनारमा रहेका अन्य साथीहरुले मल्लको त्यो आग्रहलाई पत्याएनन् । पहिले देखि नै नदीमा पस्दै बाहिर आउँदै गरेका मल्ल नदीमा वेपत्ता होलान भन्ने सँगैका साथीहरुले सोचेका पनि थिएनन् । पटकपटक पौडी खेल्दै नदीको बीचभागसम्म पुगेर फर्किएका मल्ल पौडीमा पोख्त भएको विस्वासमा रहेका उनका सहकर्मीले मल्लले बचाउन आग्रह गर्दा समेत उनी बगेको बिस्वास गरेनन्।
तर, मल्ल बगेर नदीको निकै तल पुगिसकेपछि सँगै पौडी खेल्दै गरेका चन्द उनलाई बचाउनका लागि त्यतै लागे । मल्ललाई बचाउन गएका उनी आफै वेपत्ता भए । मंगलवार विहानसम्म दुवै जनाको कुनै अत्तोपत्तो लागेको छैन । स्थानीय वासिन्दाका अनुसार वेपत्ता हुनुअघि उनीहरुले पौडी खेल्दै रमाउँदै तस्बिर समेत खिच्न लगाएका थिए ।
दुवै जना वेपत्ता भएपछि स्थानीयहरुको सहयोगमा सोमबार दिनभरी खोजी गरिएको थियो । डुंगामार्फत समेत खोजी भएपनि फेला पार्न नसकिएको शिविरका लागि सँगै चेपाङ पुगेका मिलन श्रेष्ठले जानकारी दिए । उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय बावियाचौर र अस्थायी प्रहरी पोष्ट बड्डिचौरबाट प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज (मंगलवार) विहानैदेखि खोजी कार्य सुरु गरिएको छ ।
अन्नपुर्ण पोस्टमा खबर छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline