काठमाडौ, ११ जेठ ।
भूकम्पका कारण गएको पहिरो तथा वस्तीमाथिका पहाडमा धाँजा फाटेपछि ओखलढुंगाका १४ गाविसका १७ वस्ती जोखिममा परेका छन् । भूकम्पसँगै खसेको पहिरो र लगातारको वर्षाले पहिरो झर्ने क्रम नरोकिएपछि वस्ती जोखिममा परेका हुन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क अनुसार जिल्लाका भूकम्प प्रभावित गाविसहरुका वस्ती नै पहिरोको जोखिममा रहेकाले ती वस्तीलाई अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्थामा पुगेका हुन् ।
प्राप्चाको केउरेनी, हर्कपुरको केराबारी, बिलन्दु गाविसका चार वडा, रगनीको जिली लगायतका वस्ती विस्थापित भइसेका छन् । त्यहाँका बासिन्दा सामुहिक रुपमा पाल टाँगेर बस्दै आएका छन् ।
विस्थापित भएका र हुने अवस्थामा पुगेका वस्तीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले अन्यत्र स्थानान्तरण गर्न सिफारिस गरिसकेको जनाएको छ ।
समितिका अनुसार टारकेराबारी, पोकली, विलन्दु गाविसका १, २, ६ र ८ नं. वडा, बरुणेश्वरको धनेपु, फुलबारीको डडुवा र जल्केनी माधवपुरको वानखु वस्ती पहिरोको जोखिममा परेका छन् ।
सामान्य वर्षा हुँदैमा निरन्तर पहिरो खस्ने र जमिन फाट्न थालेपछि जोखिममा रहेका गाउँ स्थानान्तरण गर्न संसदीय अनुगमन टोली र राष्ट्रिय मानवअधिकार आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको छ ।
अनुगमनमा आउनु भएका सभाषद् तथा एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीले वस्ती तत्काल सार्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।