हामी बिहान १० बजे गोरखा बजार पुग्यौं । बुटवलबाट गोरखाका लागि यात्रा गर्नुअघि मेरो मन निकै हल्लिरहेको थियो । त्यो यस्तो यात्रा थियो, जुन सुरु गर्नुअघि नै मेरा मनभित्र अनेक जिज्ञासाहरुले कुट्कुटाईरहेको थियो ।
हाम्रो यात्राको गन्तब्य गोरखाको भुषालगाउँ थियो । जहाँ प्रलयकारी महाभुकम्पको विध्वंशपछि पर्याप्त राहत र उद्दार नभएको समाचार आइरहेको थियो ।
बैशाख १२ गते शनिबार गएको महाभुकम्पपछि पराकम्पन क्रमशः कम त हुदै थियो, तर मानसिक रुपले भने भित्रभित्रै हल्लिन छाडेको थिएन । हाम्रो यात्राको संयोजन नेपाल मगर विद्यार्थी संघ रुपन्देहीले गरेको थियो ।
यसको नेतृत्व अध्यक्ष इन्द्र सारु मगरले गरेका थिए भने टोलीमा तेजु सारु, प्रेम सारु, प्रकाश फाल, नारायणी गाहा, सञ्जीव थापा मगर, कोपिला पुन मगर, सरस्वती घर्ती मगर, लक्ष्मी थापा मगर, कल्पना पुन र रेशम थापा मगर थिए भने सञ्चारकर्मीको रुपमा फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा मगर र खोमा तरामु मगर थिए । इन्द्र सारु मगरले गोरखा स्थित सम्बन्धित संस्थाहरुसंग मोवाइलमार्फत समन्वय गरिरहेका थिए ।
हामी गोरखा बजार त पुग्यौं तर भुषालगाउँ जाने बाटो थाहा थिएन । स्थानीय युवा एवं नेपाल मगर बिद्यार्थी संघ गोरखाका अध्यक्ष उमेश थापा मगरको टोलीले हामीलाई गोरखा बजारमा भेट्यो ।
हाम्रो टोलीलाई एक होटलमा खानाको व्यवस्था समेत गरि सकिएको रहेछ । हामी हतारमै खाना खाइसकेपछि राहत वितरणका लागि अनुमति लिन जिल्ला प्रशासनमा गयौं । किनकी हामी वास्तविक भुकम्प पीडितहरुलाई प्रत्यक्षरुपमा भेटेर राहत वितरण गर्न चाहन्थ्यौं ।
जिल्ला सदरमुकाममा रहेका त्यहाँका प्रशासनिक भवनहरु चर्केका थिए र कर्मचारीहरु कार्यालय परिसरमा बसेर सेवा दिइरहेका थिए । राहत लिएर आउनेहरुको भीड ठूलै थियो ।
जिल्लाका सबै राजनीतिक दलका नेताहरु त्यही जम्मा भइरहेका थिए । सबैको अनुहारमा उदासीनता थियो र हामी पनि मनभरि पीडा लिएर भुकम्पले खण्डहर भएको भुषालगाउँ कसरी पुग्ने ? भन्नेमा केन्द्रित थियौं ।
जिल्ला प्रशासनले दिएको अनुमतिपत्र र राहत सामग्रीहरु लिएर हामी दुईवटा गाडी सहित गोरखाबजारदेखि पूर्वतिर भुसालगाउँ तर्फ लाग्यौं । हामीसंगै ‘रुटगाइडर’ को रुपमा उमेश थापा मगर, टंक राना मगर, सुस्मिता पुलामी मगर लगायतका स्थानीय टिम पनि संगै थियो ।
सदरमुकामबाट उकालो चढेपछि बाटोका छेउछाउमा रहेका घरका भित्ताहरु धाँजा फाटेका थिए भने कतै गर्लाम गुर्लुम ढलेर भग्नावेश बनेका थिए । सदरमुकामबाट केही उकालो चढेपछि पालमुनि आफन्तको मृत्युपछि किरियाकाज गरिरहेका देखिन्थे । यी विभत्स पीडा, शोकमग्न मान्छेहरुको चित्कार र ढलेर अस्थिपञ्जरमा परिणत भएका बस्तीहरु देखेर भित्रभित्रै मन गलिरहेको थियो ।
सदरमुकामदेखि दुई किलोमिटर पूर्वतर्फको यात्रापछि हामी गाडीबाट ओर्लिएर भुसाल गाउँ पुग्यौं । हामी त्यहाँ पुग्दा भुकम्पले सिङ्गो गाउँ यत्रतत्र लडिरहेको थियो । त्यहाँका स्थानीयबासीलाई उठिबास पारेको थियो ।
स्थानीयबासीहरु सबै बारीका कान्ला र खुल्ला चौरमा पाल लगाएर बसिरहेका थिए । हामीसंगको भेटपछि विपतले पालमुनि दिनरात बिताउनुपरेको दुर्दान्त पीडा पोखिरहेका थिए ।
भुसालगाउँ प्राकृतिक बनोटको हिसाबले निकै सुन्दर गाउँ रहेछ । त्यहाँ जम्मा २८ घरधुरी मध्ये २५ घर राना मगर र ३ घर क्षेत्री समुदायका बस्दा रहेछन् ।
बहुसंख्यक मगरजातिको बसोबास भएकोले त्यस गाउँको नाम भुसाल मगर गाउँ राखिएको रहेछ । हामी त्यहाँ पुग्दा बिनाशकारी महाभुकम्पले त्यहाँको भौगोलिक सौन्दर्यतालाई पूर्णरुपमा ध्वस्त पारेको थियो र २८ घरधुरी मध्ये कुनै पनि घर प्राकृतिक विपतबाट बाँकी थिएनन् ।
हामी पुग्दासम्म कुनै राहत नआएको भन्दै स्थानीयबासीहरुले गुनासो गर्दै आक्रोश समेत ब्यक्त गरिरहेका थिए । उनीहरुको आक्रोश विशेषगरि सरकार र सरकारमा बस्ने पार्टीहरुप्रति लक्षित थियो ।
हामी भत्किएका घरका ध्वस्त अस्थिपञ्जरहरुलाई छिचोल्दै प्रत्येक घरका भग्नावेशहरु भएका ठाउँमा पुग्यौं । त्यहाँ कुनै पनि घरहरु सग्लो थिएनन् । सबै अलपत्र ढलिरहेका थिए । स्थानीयबासीको अनुहारहरुमा तनाब, बेचैनी र कता–कता आक्रोशहरु मडारिएको थियो ।
उनीहरु आफ्नो घरभित्र पुरिएका अन्नपात, लत्ताकपडा लगायत कुनै पनि सरसामानहरु निकाल्न सक्ने अवस्थामा थिएनन् ।
बारीका कान्ला र खुल्ला चौरहरुमा निलो पहेंलो पाल टाँगिएको अस्थायी शिविर थियो । शिविरभित्र अँगेना, जुठा भाँडाहरु छरपस्ट थिए । भुकम्पबाट विस्थापित भएका स्थानीयहरु सोही शिविरमा गुजारा गरिरहेका थिए । केही छानाहरु सग्लो जस्तो देखिएपनि भित्र सबै पर्खालहरु भत्किएर बस्न सकिने अवस्थामा थिएनन् । पूर्ण रुपमा क्षतविक्षत थिए ।
अन्नपात, लत्ताकपडा लगायत आवश्यक सम्पूर्ण सामानहरु ढुंगा माटोले पुरिएका थिए । पशुपंक्षीहरु च्यापिएछन् । मानवीय क्षति भने सामान्य बाहेक हुन पाएनछ । भुसालगाउँ–७ का स्थानीय पानुमाया राना मगरले पूर्ण रुपमा भत्किएको घर देखाउँदै मगरात मासिकसंग भने, “मेरो घर यही हो ।
सबै भत्कियो । अन्नपात पुरिएका छन् । झिक्न सकिएको छैन । कसैले सहयोग गरेन । कसरी पन्छाउने ?” त्यहाँ सबैको अवस्था त्यस्तै थियो । हामी त्यहाँ पुग्दासम्म सरकारले दिने भनिएको राहत भुसालगाउँमा सामान्य त्रिपाल बाहेक अझै पुगेको रहेनछ ।
गाउँमै ९८ बर्षीय बृद्ध रनबहादुर राना मगर लौरो टेकेर उभिरहेका भेटिए । उनले नब्वे सालको भुकम्पको पनि अनुभव गरेका रहेछन् । त्यतिबेला उनको भुसालगाउँमा जम्मा ५ वटा घरधुरी मात्र थियो रे ! सामान्य काठले मात्रै ठडिएकोले त्यतिबेला खासै क्षति पुगेनछ । तर अहिले उनको घरपनि भग्नावेशमा बदलिएको थियो ।
मगरात मासिकसंगको कुराकानीमा उनले भन्दै थिए,“मर्ने बेला बुढेशकालमा के दशा आइलाग्यो । सबै माटोमा मिल्यो । पिँढीमा बसिरहेको बेला जसोतसो छोराले उचालेर ज्यान त बचाइदियो तर बस्ने घर छैन । अब कसरी बाँच्ने होला ?” राहतको नाममा उनीहरुले सरकारको तर्फबाट अझ केही पाएका छैनन् ।
त्रिपालले छापेका शिविरमा उनीहरु बसिरहेका छन् । भुकम्प आएको तीन दिनसम्म त उनीहरु खुल्ला आकाशमुनि नै रात विताएछन् । पछि मात्रै उनीहरुलाई नगरपालिकाले केही त्रिपालहरु दिएको रहेछ ।
हामीले वितरण गरेको राहत सामग्रीहरुले उनीहरुको मनलाई केही शीतल पार्ने प्रयास त ग¥यो तर सरकारको निरीहपनले उनीहरुको मनभित्र फाटेको धाँजा अझै जम्न सकिरहेको छैन ।
गाउँको विवरण संकलनपछि हामी सिरानको खुल्ला चौरमा जम्मा भयौं । अनि लाग्यौं–राहत वितरणतर्फ । स्थानीयबासीहरु भग्नावेशमा परिणत भएको आफ्नै बस्तीको दृश्य हृदय निचोरिएका थिए ।
हामी उनीहरुको त्यही पीडामा सानो भएपनि राहतको मलहम लगाउने प्रयासमा थियौं । यसका लागि स्थानीय न्यूस्टार युवा क्लबले समन्वयको भूमिका खेलेको थियो । हाम्रो टोलीका तर्फबाट नारायणी गाहा मगरले वितरण कार्यक्रम शुभारम्भ गरिन् ।
स्थानीय भुसाल गाउँ महिला समूहका पानुमाया राना मगर र क्लबका उत्तम राना मगरले हाम्रो गुनप्रति धन्यवादका दुई शब्द टक्रयाईन् भने हाम्रो तर्फबाट पूर्व अध्यक्ष सञ्जीव थापा मगर र अध्यक्ष इन्द्र सारु मगरले राहत वितरणको उद्देश्यको बारेमा संक्षिप्त रुपमा बोलेका थिए ।
राहत वितरण कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य लिला थापा मगर, पूर्व केन्द्रिय सदस्य रेशम थापा मगर, स्थानीय क्लबका अध्यक्ष अनिल राना मगर लगायतको उपस्थिति रहेको थियो ।
(लेखक मगरात राष्ट्रिय मासिकका कार्यकारी सम्पादक हुन्)