किन दिनु पर्यो पर्यटन मन्त्री अमात्यले राजिनामा ?

किन दिनु पर्यो पर्यटन मन्त्री अमात्यले राजिनामा ?

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौ, जेष्ठ ९ – सुशील कोइराला सरकारको डेढ वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा तेस्रो पटक मन्त्री परिवर्तन भएको छ । एमालेको भागमा परेको यो मन्त्रालयनिम्ति शुक्रबार कृपासुर शेर्पाले शपथ लिए ।

एमालेले यो मन्त्रालयमा सुरुमा भीम आचार्यलाई पठायो । छ महिनामै उनी फिर्ता बोलाइए, दीपक अमात्य पठाइए । एमालेले आचार्य हटाउनुको कारण खुलाएन । आचार्यले नियुक्तिलगायतमा नेताहरुको स्वार्थ अनुसार काम नगरेका कारण आफूलाई हटाइएको सार्वजनिक वक्तव्य दिए । रु

अमात्य नौ महिनापछि बिहीबार अकस्मात् राजिनामा गर्न पुगे । कार्यक्षमता, नेता र शक्ति केन्द्रका स्वार्थअनुसार नचलेकोलगायत कारण उनको राजिनामासँग जोडिएका छन् । यसको संकेत अमात्यले राजिनामा पत्रमा दिएका छन् ।

विषेश गरी भुकम्पपछिको उद्धार, राहत लगायत कामलाई लिएर पद छोड्नुपरेको उनले राजिनामा पत्रमा इंगित गरेका छन् । उनले ‘बिषम स्थितिमा नेपालको संविधान, कानून तथा देशको स्वाधिनता र स्वाभिमानमा समेत कतै आच नपुगोस् भन्ने निस्वार्थ इमानदार प्रयास गर्दा गर्दै त्यस अनुसार काम गर्ने अवस्था नरहेकाले’ राजिनामा दिएको उल्लेख गरेका छन् ।

‘भुकम्प प्रभावितहरुको राहत र उद्धारको कामलाई सबै भन्दा बढी महत्व दिदै राष्ट्रिय हित, नेपालको संविधान, कानून र मर्यादाको रक्षा गर्नेतर्फ पनि मैले प्रयत्न गरे’ अमात्यले राजिनामा पत्रमा भनेका छ, ‘तर जनता, देश र लोकतान्त्रिक मान्यताको मेरो उक्त उद्देश्य तथा आदर्श अनुरुप अघि बढ्न सकिने परिस्थिति नदेखिदा मन्त्री पदमा रहिरहन उचित नलागेकाले आजैका मितिदेखि लागू हुनेगरी राजिनामा दिएको छु ।’ राजिनामा दिएयता उनी मिडियासंगको सम्पर्कमा आउन चाहेका छैनन् ।

भुकम्पपीडितहरुको राहत र उद्धारनिम्ति विदेशी विमानहरुको राम्रो व्यवस्थापन गर्न नसकेको आरोप  उनीमाथि लागेको थियो । नेपाल आउन चाहने केही विमानलाई अवतरण अनुमति नदिएकोमा केही कुटनीति नियोगहरुले पनि मन्त्री अमात्यलाई दोषि देखाउदै प्रधानमन्त्री, एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता झलनाथ खनालसंमक्ष उजुरी गरेका थिए  । विमानस्थलको क्षमतालाई कारण देखाउँदै पर्यटन मन्त्रालयले  १ सय ९६ टनभन्दा बढी सामग्री बोकेर आउन खोज्ने विमानलाई रोकेको थियो । यसका कारण अमेरिकी सैनिक कार्गो विमान र बेलायतको चिनुक हेलिकप्टर  पनि आएनन् । कुटनीतिक नियोगहरुसंगको समन्वय पनि फितलो  भएको आरोपसमेत अमात्यमाथि थियो । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार विमानस्थल व्यवस्थापनमा अमात्य कमजोर देखिएपछि प्रधानमन्त्री कोइरालाले सिचाई मन्त्री एनपी साउदलाई विमानस्थली हेर्न खटाएका थिए । विभागीय मन्त्री सक्रिय नभएकाले यसो गर्नुपरेको मन्त्रालयका एक अधिकारीले बताए ।

अमात्यको राजिनामा पछाडी मन्त्रालय अन्तर्गतका नियुक्तिमा नेतारुको दबाब थेग्न नसक्नु पनि कारण हुन सक्ने एमालेकै नेताहरु बताउछन् । ‘मन्त्रालयमा धेरै राजनीतिक नियुक्ति गर्न बाकी छ,  नेताहरुकै स्वार्थ बाझिएकाले पनि उनलाई धेरै दबाब भइरहेको थियो’ एमालेका एक पदाधिकारीले भने ।

हाल पर्यटन बोर्ड प्रमुख, बायु सेवा निगमका महाप्रबन्धक, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलगायतका पद रिक्त छन् । उक्त पदमा नियुक्ति कसलाई गर्ने भन्नेमा पनि पार्टी भित्रका नेताहरुको स्वार्थ बाझिएको स्रोतको दाबी छ ।

अमात्य एमाले बरिष्ठ नेता झलनाथ खनाल निकट हुन् । खनाल मन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म अमात्य स्वकीय सचिव थिए । स्वकिय सचिवबाट एकैचोटी खनालकै सिफारिसमा उनी मन्त्री बनेका हुन ।

पार्टीका केन्द्रिय समिति  सदस्य समेत नरहेका  व्यक्ति सोझै मन्त्री बन्दा एमालेभित्र निकै खैलाबैला भएको थियो । मन्त्री बनेपछि पार्टीको मर्यादा राख्न नसकेको आरोप उनीमाथि छ । ‘उनलाई एमालेको मन्त्री हु भन्ने कुनै मतलव रहेन, पार्टीसंग कुनै चासो पनि राखेनन्’ एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘त्यसैले उनको ठाउमा अर्को मन्त्री पठाइएको हो ।’

अमात्य पार्टी र सरकारबीच समन्वय गर्ने छलफलमा कमै उपस्थित हुन्थे । आफ्नो मन्त्रालयअन्तर्गत मिल्ने  पार्टीका  कार्यक्रममा समेत उनी जादैनथे । गत सोमबार एमाले पर्यटन विभागको कार्यभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव इश्वर पोखरेल लगायतका नेताहरु गएका थिए । त्यहाँ अमात्यलाई पनि बोलाइएको थियो । तर उनी गएनन् । कार्यक्रममा पुगेर अध्यक्ष ओलीले मन्त्री अमात्यलाई बोलाए पनि आएनन् । अन्य कार्यक्रमहरुमा पनि वास्ता  नगरेको भन्दै नेताहरु आक्रोशित थिए ।

मन्त्री भएपछि पनि खासै क्षमता देखाउन नसकेको उनको नौ महिने कार्यकालले  पुष्टी गर्छ । नौ महिना मन्त्री हुदा उनले बढी विदेश भ्रमणलाई प्राथमिकता दिए ।

उनी पर्यटनमन्त्री भएपछि कहिल्यै मातहतका निकायहरु नेपाल वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको अनुगमनमा गएनन् । तर चार जना कर्मचारी हुने सानो स्टेशन भ्रमण गर्न उनी चारपटक निगमकै खर्चमा विदेश गए । दुइ पटक हङकङ गए । पहिलोपटक पूर्व अध्यक्ष झलनाथ खनाललाई साथै लगेर गएका उनलाई पोखरामा चिनियाहरुले निर्माण गर्न लागेको विमानस्थलको कमिशन मिलाउन त्यता गएको आरोप लाग्यो ।संचारकर्मीले यसबारे सोध्दा उनी मौन बसे । निगमको खर्चमा एकपटक उनले स्वकिय सचिव चन्द्र लामालाई हङकङ लगे ।

पत्नीसहित उनी निगमकै खर्चमा जर्मन पनि गए । उनका स्वकिय सचिव चन्द्र लामाले नागरिक उड्ययन प्राधिकरणको गाडी चढीरहेका छन । अमात्यकी पत्नीका लागि समेत मन्त्रालयले गाडी दियो । उनले सरकारीबाहेक थप अर्को गाडी प्राधिकरणबाटै लिएका छन् । यी सबै सवारी साधनको तेलको खर्च प्राधिकरणले ब्यहोर्दै आएको मन्त्रालयका एक सहसचिवले बताए ।

गत भदौं २७ मा पर्यटन मन्त्री भई आएका अमात्य सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा पनि पर्छन् । नियम अनुसार, पदबहाल गरेको १५ दिनभित्र सम्पत्ती विवरण बुझाउनु पर्छ तर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई मन्त्री रहुन्जेल आफ्नो सम्पत्ती विवरण बुझाएनन् ।आजको कान्तिपुरमा खबर छ । 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी