काठमाडौ, ९ जेठ ।
वैशाख १२ गते विनाशकारी भूकम्प जानुभन्दा ठिक एक घन्टाअघि पाटन अस्पतालको प्रसूति वार्डमा मुना तामाङले साढे तीन किलोको शिशुलाई जन्म दिइन्
रातो गुराँसझैं सुन्दर ती बालकले च्याँच्याँपछि जसै आँखा उघारे, नर्सहरू जम्मै खुसीले हाँसेका थिए रे ! ‘आहा कति सुन्दर बच्चा भन्दै जिस्काउन थाले,’ मुना सुनाउँछिन्, ‘त्यति बेला खुसी र लाज दुवै लागेको थियो ।’
अस्पतालकी स्त्रीरोग विशेषज्ञले वैशाख ११ गते प्रसूति मिति तोकिदिएकी थिइन् । त्यही भएर मुना श्रीमान् छिरिङका साथ ९ गते नै सिन्धुपाल्चोक, फुर्पिङबाट काठमाडौं आइपुगेकी थिइन् ।
वैशाख १० गते बेलुकीदेखि लागेको व्यथा खप्दै उनले १२ गते दिउँसो ११ बजे छोरालाई जन्म दिइन् ।
एउटी महिलाका लागि आमा बन्नुजस्तो ठूलो खुसी के होला र !
मुनाका लागि त्यस दिन जीवनकै भव्य खुसी लिएर आएको थियो । कहिलेकाहीँ उज्यालो घाम लागिरहेका बेला पानी प¥यो भने इन्द्रेणी लाग्छ । खुसी र हर्षको आँसुले मुनाको जीवन पनि ठ्याक्कै इन्द्रेणीझैं सुन्दर बनेको थियो । तर, एक घन्टा बित्न नपाउँदै जीवनकै भयंकर संकट र दुःखले अत्यायो उनलाई ।
मान्छेहरू भागाभाग गर्न थालेका थिए । कुरुवा र बिरामी मात्रै होइन, नर्स र डाक्टरहरू पनि चिच्याइरहेका थिए ।
श्रीमानले एक हातले उनलाई र अर्को हातले बच्चा बोकेर हत्त न पत्त तल झारे । ‘कति साहस पलाएको उसमा भनेर मैले एकपटक छिरिङलाई हेरेँ,’ मुनाले नागरिकसँग भनिन्, ‘हामी कसरी एकैचोटि तल आयौं भन्ने थाहै छैन ।’
यी दम्पतीले बच्चासँगै दिनभर अस्पतालबाहिरै बिताए । बेलुकादेखि पानीबाहेक मुखमा केही हालैकी थिइनन्, मुनाले । भूकम्पको धक्का पटक–पटक आइरहेकै थियो । ‘बच्चाको अनुहार हेरेरै भए पनि हतास भएनौं,’ उनी अनुभव साट्छिन् ।
सिन्धुपाल्चोक घरतिर कसैसँग फोन सम्पर्क हुन सकिरहेको थिएन । घरपरिवारको सुर्ता त छँदै थियो, यता अस्पतालले भने बेलुकी नै डिस्चार्ज गरिदियो । ‘कहाँ जाने, के गर्ने भन्ने सोच्नै सकेनौं ।
पछि त यहीँ बस्ने व्यवस्था भएछ,’ नेपाली सेनाको १ नम्बर सुरक्षा पोस्ट, कोटेश्वरमा पाल हालेर बसिरहेकी मुनाले भनिन् ।
सिन्धुपाल्चोकमा उनको घर पहिलो धक्कामै गल्र्यामगुर्लुम ढलिसकेको छ । जे हुनु भइसकेपछि दुःख बेसाएर मात्रै जीवन अघि बढ्ने होइन । मुनालाई यस्तै लागेको छ र हिम्मत जुटाएर भन्छिन्, ‘यही छोराको भाग्यले काठमाडांै आयौं र बाँचेका छौं, उता भएको भए…!’
पालभित्रै छोराको न्वारन भइसकेको छ । ‘अरूले छोराको नाम भुइँचालो कुमार राखौं भनेका थिए,’ उनले हाँस्दै सुनाइन्, ‘जन्मेको नौ दिनको दिन यहीँको लामाले पानी छर्केर छोराको नाम पेम्बा दोर्जे राखिदिए ।’
भूकम्पको पीडा र त्रासबाट मुनाजस्ता भर्खरै बच्चा जन्माएका र गर्भवतीहरू पलपल चिन्तामा डुबेका छन् । सिन्धुपाल्चोक घर भई कोटेश्वर डेरा गरी बस्ने २५ वर्षीया दीपा थापाको व्यथा लगभग मुनाकै जस्तो छ ।
प्रसूति मिति नजिकिँदै थियो । आज व्यथा लाग्ला, भोलि लाग्ला भन्दाभन्दै वैशाख १२ गते आयो । ७.६ म्याग्निच्युडको भूकम्पमा नौ महिना पुगिसकेको गर्भलाई उनले कसरी जोगाइन् होला ! ‘त्यो दिन सम्झँदा अहिले पनि सिरिंग हुन्छु,’ दीपा भन्छिन्, ‘त्यो बेला आफूभन्दा पेटभित्रको बच्चाको मायाले रोएकी थिएँ ।’
दिनहुँजसो धक्का आइरहे पनि उनको मनस्थिति सामान्य बन्दै गएको थियो । वैशाख २९ गते बिहानदेखि व्यथाले च्यापेपछि केएमसी अस्पतालका चिकित्सिकहरूले अप्रेसनमार्फत बच्चा निकाले ।
नवजात शिशुको अनुहार राम्ररी हेर्न पनि भ्याएकी थिइनन् उनले, आधा घन्टा नबित्दै शक्तिशाली धक्का आइहाल्यो । अत्तालिँदै डाक्टर र नर्सहरू उनलाई छाडेर भाग्न थाले ।
‘म होशमै थिएँ । भुइँचालोले हल्लाएको पनि थाहा थियो,’ भन्छिन्, ‘तर, यो सानो बच्चालाई बोकेर कता दौडनु । हलचल गर्ने अवस्थै थिएन ।’ त्यस बेला बच्चालाई छातीमा टपक्क कसेर भगवान पुकारिरहेको सुनाउँछिन्, उनी ।
अप्रेसन गरेको भोलिपल्टै अस्पतालले डिस्चार्ज गरिदियो । कोटेश्वरमा बस्दै आएको डेराघर पनि चर्केपछि उनी पुनः नेपाली सेनाको पोस्ट कोटेश्वरकै अस्थायी शिविरमा फर्किइन् ।
न्यानो र बाक्लो ओछ्यानमा सुत्नुपर्ने उनीजस्ता सुत्केरीहरू चिसो भुइँमा ओछ्याइएको एकसरो म्याट र तन्नामा सुत्न बाध्य छन् । ढाड र टाउको दुखाइले अधिकांश सुत्केरीलाई गलाएको छ ।
१२ गतेको भूकम्पले भक्तपुर, इँटापानेको घर नराम्ररी चर्केपछि पालमै बस्दै आएकी गर्भवती सरिता बासुकला धोँजुलाई तत्काल बच्चा नजन्मिदिए हुन्थ्यो जस्तो लागिरहन्थ्यो ।
तर, वैशाख २५ गते व्यथाले च्यापेपछि नयाँ बानेश्वरको सिभिल अस्पतालमा उनले बच्चा जन्माइन् । हाल १५ दिनको बच्चालाई उनी पालभित्रै स्हायार्दै छिन् ।
अव्यस्थित बसाइ र चिसोका कारण बच्चामा न्युमोनिया होला कि भन्ने ठूलो पीर छ, उनमा । आफूले पनि पोषिलो खाना र बस्ने ठाउँ नपाएको उनको गुनासो छ ।
‘फलफूल नभए पनि कुरिलो खान पाए हुन्थ्यो,’ सुख्खा च्युरा र आलुको खाजा खाइरहेकी उनले भनिन्, ‘घरिघरि भोक लागिरहन्छ, के खाऊँ के खाऊँ हुन्छ तर यहाँ कसरी पाउने !’
विस्थापनको पीडामा गुज्रिरहेका साना बच्चाहरूमा विभिन्न रोग देखा परेको पीडित महिलाहरू बताउँछन् । भक्तपुर, इनाचोक–६ की शोभा सादा छोरीलाई झाडापखालाले भेटेयता चिन्तित छिन् ।
वैशाख १० गते सुत्केरी स्याहार्न माइतीले बोलाएपछि एक महिने छोरी लिएर उनी भक्तपुर इँटाछेँ पुगिन् । त्यसको दुई दिनमै आएको भूकम्पले दुवैतिरको घर बाँकी राखेन ।
अहिले उनको बास नः पोखरीको डिलमा रेडक्रसको सहयोगमा नेपाली सेनाले बनाइदिएको अस्थायी पालमा हुने गरेको छ ।
बिरामी छोरीलाई लिएर कतिन्जेल पालभित्र बस्ने, उनमा अन्योल छ । ‘चर्को घाम, फोहोर र झिँगाले गर्दा छोरी बिरामी भई,’ उनले भनिन्, ‘सुई लगाउनुपर्ने थियो । ज्वरोले गर्दा खोप नै नलगाई नर्सले फर्काइदिए ।’
उनीसँगै माइतीहरू पनि चिन्तित छन् । घरै भत्किएपछि न छोरीलाई पोषिलो खानेकुरा दिन सकेका छन्, न त राम्ररी सुताउन नै पाएका छन् ।
बिरामले सताउँदै
सिन्धुपाल्चोककी मुना तामाङलाई ज्वरो आएर उठ्नै नसक्ने बनाएको थियो । ज्वरो पनि दुईपटक दोहोरिसक्यो । पाटन अस्पतालमा जँचाएर औषधि खाएपछि अलिक बिसेक भएको उनी बताउँछिन् ।
घाम लाग्दा पालभित्र उकुसमुकुस हुने गरी तातो हुन्छ । पानी परेको बेला त झनै बेहाल ।
इनाचोक, भक्तपुरकी शोभा सादाको पीडा पनि कम छैन । अप्रेसनको घाउ पाकेर उठबस गर्नै नसक्ने अवस्थामा छिन्, उनी । त्यसमाथि दुई महिने नानीलाई ज्वरो र झाडापखाले सिकिस्त बनाएको छ ।
केही दिनअघि अप्रेसन गरेकी सिन्धुपाल्चोककी दीपा थापालाई डे«सिङका लागि अस्पताल धाइरहनुपर्छ ।
सुत्केरीहरूलाई ज्वरो आउने, ढाड दुख्ने, टाउको दुख्ने तथा रुघाजस्ता समस्या रहेको छ भने शिशुहरूमा ज्वरो, पखला, तर्सिने, कहालिएर रुनेजस्ता समस्या देखा पर्न थालेको छ ।
पौष्टिक खानाको अभाव
पालमा बस्दै आएका सुत्केरीले न पोषिलो खानेकुरा पाएका छन् न सफासुग्घर भएर बस्न नै । ‘दूध, माछामासु वा फलफूल त परै जाओस्, भात–तरकारीबाहेक प्रत्येक दिन दाल पनि खान पाइएको छैन,’ सिन्धुपाल्चोककी मुना तामाङ भन्छिन् । दूधै आउन छाडेकाले छोरालाई ‘लेक्टोजन’ खुवाउनु बाध्यता बन्यो उनको ।
सुत्केरीहरूलाई रक्तस्राव भइरहने भएकाले जिउ सफा राखिराख्नुपर्छ । बच्चाहरूको सरसफाइमा पनि ध्यान दिनुपर्छ ।
शौचालय र पानीको अभावले बिरामी हुनेहरूको क्रम बढेको इँटाछेँ, भक्तपुरकी शोभा सादा बताउँछिन् । सुत्केरी र शिशुलाई चाँडै इन्फेक्सनको सम्भावना भएकाले धेरै महिला चिन्तामा छन् ।
नजिकै रहेका पसल खुलिनसकेकाले पौष्टिक खानेकुरा किन्न पनि समस्या भएको उनीहरू बताउँछन् ।पालमा सुत्केरी र नवजात शिशुहरूसँगै दुईदेखि पाँच वर्षसम्मका थुप्रै बालबालिका छन्, जसले जाउलो र दालबाहेक पौष्टिक खुराक पाएका छैनन् ।
दोलखा चंखा– ८ की मीना तामाङ भक्तपुरको सृजनानगरमा पालमा आश्रय लिएर बसेकी छन् । १० महिने छोरी बिन्दुका लागि लिटो ल्याएदिनुस् भनेर धेरै राहत वितरकलाई भने पनि कसैले वास्ता नरेको उनको गुनासो छ ।
‘भात नखाएपछि दुब्लाउँदै गएकी छे,’ उनले पीडा पोखिन्, ‘चिया पसलले परिवार पालेका थियांै, त्यही पनि भत्किसक्यो ।’
खोटाङकी लक्ष्मी मगर सल्लाघारीको अस्थायी पालमा आश्रय लिएर बसेकी छन् । उनीसँगै खोटाङका आठ परिवार एउटै पालमुनि छन् । यहाँ एकदेखि दुई वर्षका बालबालिकाको संख्या पाँच छ ।
‘बच्चाहरूलाई पौष्टिक खानेकुरा खुवाउन पाएका छैनौं,’ मगरले भनिन्, ‘बच्चाहरूलाई भनेर लिटोमात्रै पनि बाँडिदिए साच्चिकै राहत हुने थियो ।’
राहतले छोएन
रेडक्रस र नेपाली सेनाले मिलेर बनाइदिएको पालमा सुत्केरी र शिशुसहित २२ जना सुत्नुपर्ने बाध्यता सुनाउँछिन् शोभा । पाल र पानीबाहेक राहतका नाममा अरू केही नपाएको उनको गुनासो छ ।
कोटेश्वर आर्मी पोस्टमा एउटै पालमा सुत्केरी र शिशुसहित १६ जना बसिरहेका छन् । ‘एकपटक अलिकति चामल, पानी र चाउचाउ पाए पनि सुत्केरीका लागि चाहिने सामग्री आएको छैन,’ मुना तामाङले भनिन् ।
उता इँटापाने, भक्तपुरकी सरिता धोँजुको परिवार सानो प्लास्टिक ओत हालेर बसेको छ । ‘केही नभए पनि एउटा त्रिपालमात्रै दिए पुग्थ्यो,’ उनी भन्छिन्, ‘हावा र पानीले प्लास्टिक उडाउला भन्ने डर भइसक्यो ।’
आजको नागरिक दैनिकमा खबर छ ।