काठमाडाँै, ८ जेठ ।
सरकारले सम्भावित विपत्तिका बेला आपूर्ति व्यवस्था सहज पार्न आगामी छ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने गृहकार्य सुरु गरेको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले छ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने कार्य सुरु भएको बताउनु भयो ।
उहाले पेट्रोलियम पदार्थको अभाव हुन नदिन मुख्य मुख्य स्थानमा सञ्चित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको जानकारी दिनुभयो । यस्तै भूकम्प प्रभावित र सम्भावित बाढी पहिरो आउन सक्ने क्षेत्रलाई लक्षित गरेर खाद्यान्न भण्डारणको व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो ।
भूकम्प आउनुपूर्व नेपालसँग एक लाख ५० हजार क्विन्टल खाद्यान्न भण्डारण रहेकामा एक लाख क्विन्टल वितरण भइसकेको जानकारी दिनुभयो । आगामी तीन महिनाको लागि भूकम्पपीडितलाई खाद्यान्न वितरण गर्न विश्व खाद्य सङ्गठनसँग सम्झौता हुन लागेको पनि उहाले जानकारी दिनुभयो ।
आगामी दिनमा आउन सक्ने विपत्तिका बेला तत्काल खाद्यान्न संकट हुन नदिन काठमाडाँैमा चार हजार र पूर्वको लहानमा दुई हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।