डोटी ६ जेठ ।
“छाउपडी कूप्रथामुक्त व्यवहार, डोटीबासीको सरोकार” भन्ने परिकल्पनाका साथ बुधबार छाउपडी कूप्रथा निवारण सम्बन्धी डोटीको पाँच वर्षे रणनीतिक योजना तयार गरिएको छ ।
सरोकारवाला विभिन्न सरकारी तथा गैर सरकारी निकायमार्फत जनचेतनाको विस्तार, पैरवी, वकालत, क्षमता अभिबृद्धि र सिप विकासका माध्यमबाट सो परिकल्पना पूरा गरिने रणनीतिक योजनामा समावेश गरिएको छ ।
उपलब्ध स्थानीय तथा बाह्य श्रोतसाधनको परिचालन गरि सबै निकायको समन्वय र साझेदारीमा अभियान सञ्चालन गरेर जिल्लाभरि योजना लागु गरिने भएको छ ।
सेभ द चिलड्रेन, युनाईटेड मिसन टु नेपाल, सम विकास केन्द्र नेपाल, वल्र्डभिजन, सिर्जनशील विकास समाज, सामुदायिक विकास केन्द्र, गुड नेइवर्स र समाज सेवा डोटीको सहयोगमा महिला तथा बालबालिका कार्यालय डोटीको आयोजना गरेको एक दिने कार्यशालाबाट उक्त रणनीति तयार पारिएको हो ।
कार्यशालामा सहभागि राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघसँस्था, पत्रकार र समुदाय स्तरबाट सहभागिहरुले पाँच वर्षसम्म गर्न सकिने क्रियाकलाप र आ–आफ्नो भूमिका सहित रणनीतिक योजना तयार पारेका हुन् ।
सुदूरपश्चिम तथा मध्यपश्चिममा सामाजिक कुसँस्कारका रुपमा रहेको छाउपडी कुप्रथा अन्त्यका लागि विभिन्न क्षेत्रबाट भएका प्रयासपश्चात महिलाहरु महिनाबारी भएका बेला सुरक्षित रुपमा घरभित्र बस्न थालेपछि विभिन्न जिल्लाहरुसँगैै डोटीमा पनि छाउपडी गोठमुक्त घोषणा गर्ने क्रम पनि जारी छ ।
डोटीको सरस्वतिनगर गाविसलाई २०७० जेठ २५ गते जिल्लाकै पहिलो छाउपडी गोठमुक्त घोषणा गरिएको थियो । त्यसपश्चात विभिन्न निकायको सक्रियतामा हालसम्म जिल्लाका १७ वटा गाविस छाउपडी गोठमुक्त घोषणा गरिएका छन् । यद्यपी ति गाविसहरुमा छाउपडी कुप्रथाका विभिन्न स्वरुप अहिले पनि कायमै छन् ।
एक अध्ययन अनुसार जिल्लाका कूल ५० गाविसमध्ये ४० गाविस र नगरपालीकाको वडा नं. ११ मा मात्रै छाउ हुदाँ गाई भैंसीको गोठमा बस्ने घरधुरी संख्या एक हजार नौ सय ३८ र छाउपडी गोठमा बस्ने घरधुरी संख्या दुई हजार नौ सय ९० रहेको तथ्याङ्क छ भने पूर्ण तथ्याङ् संकलन अझै हुन सकेको छैन ।
नेपाल सरकारले पनि यस प्रथालाई २०६३ बैशाख २६ गते कुरिति भनेर घोषणा गरिसकेको र छाउपडी प्रथा अन्त्यका लागि निर्देशिका २०६४ पनि जारि गरिसकेको भए पनि यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।