काठमाडौं, जेठ ४ ।
सरकारले नयाँ घर बनाउनका लागि असार मसान्तसम्म नक्सा पास नगर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आज बसेको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि भवन निर्माण गर्न नक्सा पास नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले आज जिल्ला विकास समिति र नगरपालिकालाई घर बनाउने स्वीकृती नदिन परिपत्र गरेको हो । भूकम्प अघि नै घर बनाउने स्वीकृती लिएका तर बनाउन सुरु नगरेकालेलाई असार मसान्तसम्म निर्माण कार्य सुरु गर्न नदिने मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ । तर स्वीकृती लिएर निर्माण कार्य सुरु गरिसकेका घरको सम्बन्धमा भने भूईंतला समेत गरी दुई तलासम्म मात्र बनाउन पाउने व्यवस्था लागु गरेको छ ।
मन्त्रालयले जारी गरेको परिपत्रमा चालु आर्थिक वर्षको असार मसान्तसम्म नयाँ भवन निर्माणका लागि नक्सापासको निवेदन दर्ता नगर्न पनि नगरपालिका र गाविसलाई भनेको छ । यसअघि निवेदन दर्ता भएको तर नगरपालिकाबाट नक्सापास स्वीकृत नभएका निवेदनहरुमा पनि असार मसान्तसम्म भवन निर्माणका लागि अनुमति नदिइने निर्णयमा उल्लेख छ ।
यसैगरी यसअघि नै नक्सापास भइसकेको तर निर्माण कार्य सुरु नभएको हकमा समेत भवन निर्माण रोक्का गरिने र नक्सापास भएर घर बनाउन सुरु भइसकेको हकमा असाढ मसान्तसम्मको लागि भुईँतल्लासमेत गरी दुई तल्ला भन्दा बढी निर्माण गर्न नदिने भएको हो ।
मापदण्ड विपरित नक्सा पास गर्ने, भवन निर्माणको अनुमति दिने तथा सो कार्यमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न अविलम्ब प्रक्रिया थाल्ने निर्णय समेत मन्त्रालयले गरेको छ ।