काठमाडौं, ३ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताउनुभएको छ ।
२२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टी केन्द्रिय कार्यलय बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्नु हुदै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति राहत आएको छ कसरी वितरण भइरहेको छ भन्नबारेमा जानकारी नभएको गुनासो गर्नु भएको छ ।
उहाँले मनसुन सुरु हुनु अगावै पिडितहरुको पुनःस्थापनाको कार्य पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो । यस्तै पार्टी महासचिव ईश्वर पोखरेलले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद थप सान्दर्भिक भएको र त्यसलाई पार्टीले दृढताका साथ कार्यान्वयन गर्ने धारण राख्नु भयो ।
कार्यक्रममा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी लगायतले २०५० सालमा आजैका दिन चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन हुनुभएका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।