कमठमाडौ २ जेठ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले शुक्रबार नेपालका भूकम्पपीडित तथा यस गरिबीग्रस्त हिमालीराज्यलाई पुननिर्माण गर्न र भविष्यको प्रकोपबाट राम्रोसँग जोगिन अविलम्ब सहयोगका लागि आग्रह गरेको छ ।
एक सय ९३ सदस्य भएको यस विश्व संस्थाले सर्वसम्मतिले पारित गरेको एक निर्णयमा आउँदो तीन महिनाको अत्यावश्यकता पूरा गर्न ४२ करोड ३० लाख अमेरिकी डलर सहयोगको माग पूरा गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
महासचिव बान कि–मनुले महासभालाई आग्रह गरिएको १४ प्रतिशत कोष मात्र उपलब्ध भएको बताए। उनले थप र राम्रो गर्न सङ्कल्प गर्न आग्रह गरे।
नेपालको पुननिर्माणका लागि वर्षौँ लाग्ने र यसका लागि दिगो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने देखिएको छ।
महासभाको निर्णयमा अप्रिल २५ मा गएको ७।८ म्याग्निच्युडको भूकम्पले आठ हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ ।
मङ्गलबार अर्को ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसले थप ११७ व्यक्तिको मृत्यु हुनाका साथै दुई हजार ८०० व्यक्ति घाइते भएका छन्।
संयुक्त राष्ट्र सङ्घले यस प्रकोपका कारण ८० लाख जनता प्रभावित भएको उल्लेख गरेको छ।
महासचिव बानले जुन महिनामा मनसुन आरम्भ हुनुअगाडि आवश्यकता परेका सबैलाई आवास, स्वच्छ पानी तथा सरसफाइका सुविधासहितको सहयोग अविलम्ब उपलब्ध गराउन आग्रह गर्नुभयो । मनसुन आरम्भ भएपछि यहाँ हैजा तथा पानीजन्य अन्य रोग फैलनसक्ने खतरा बढ्ने बताइएको छ ।
मुनले पालमा बसिरहेका जनतालाई घना वर्षा तथा असिनाले प्रभाव पारिरहेको बताए। उनले करिब पाँच लाख जनतालाई आपत्कालीन बसोबास आवश्यक भएको बताए।
उनले मनसुन खेतीको समय भएकाले किसानले आफ्नो खेत रोप्न नसके आउँदो वर्ष भित्रिने बाली नराम्रोसँग प्रभावित हुने बताए।
निर्णयमा भूकम्पले नष्ट भएका वा क्षति पुगेका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक स्थलको पुनस्र्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
संयुक्त राष्ट सङ्घको संस्कृति सम्बन्धी संस्था युनेस्कोले यस भूकम्पका कारण काठमाडौँ उपत्यकास्थित विश्व सम्पदाका सात स्थानमध्ये तीन स्थान नराम्रोसँग क्षतिग्रस्त भएको जानकारी दिएको छ ।