काठमाडौं, जेठ १ ।
नेपाल–चीन वाणिज्य मैत्री संघ, दोलालघाट पर्यटन प्रवद्धन तथा समाज विकास केन्द्र, डिआरएन ओभरसिज प्रा.लि.र नेपाल क्युएनयू फर्निचर कम्पनीले काभ्रेपाल्चोक र सिन्धुपाल्चोक जिल्लाका महाभूकम्प पिडीत २ हजार ४ सय ७४ घरधुरीलाई राहत वितरण गरेको छ ।
नेपाल–चीन वाणिज्य मैत्री संघको संयोजकत्वमा आयोजित सो राहत वितरण कार्यक्रम बैशाख १६ गतेदेखि २९ गते सम्म सञ्चालन गरिएको हो ।
नेपाल–चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठका अनुसार महाभूकम्पबाट अति प्रभावित काभ्रेपाल्चोक जिल्लाको दोलालघाट, भुम्लुटार, ज्याम्दी, सापिङ र फलाँटे गा.वि.स र सिन्धुपाल्चोक जिल्लाको ठूलोसिरुवारी, साँगाचोक, कुभिन्डे देउराली, मानेश्वारा र गाथी गा.वि.स का जम्मा १ हजार ८ सय ७ घरधुरीलाई चामल, दाल, नुन र त्रिपाल वितरण गरिएको थियो । त्यसका अतिरिक्त साँगाचोक गा.वि.समा विनाशकारी महाभूकम्पबाट अति प्रभावित ४ सय ९७ घरधुरीलाई एक÷एक थान त्रिपाल समेत वितरण गरिएको थियो ।
बुधवार मैत्री संघद्वारा जारी गरिएको प्रेश विज्ञप्ति अनुसार दुवै जिल्ला गरी कुल २६ हजार ८५ किलो चामल, २ हजार १ सय ५५ किलो नुन र २ हजार १ सय ५५ किलो नुन राहत स्वरुप वितरण गरिएको थियो । त्यसैगरी कुल ७०० थान त्रिपाल समेत वितरण गरिएको थियो ।
प्रेश विज्ञप्तिमा २०७२ बैशाख १२ गते शनिवार मध्यान्ह गोरखा जिल्लाको बरपाकलाई केन्द्रविन्दू बनाई गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्प र तत्पश्चात पटक पटक गएका भूकम्पहरु साथै बैशाख २९ गते दिउँसो १२ः५४ वजे सिन्धुपाल्चोक र दोलखालाई केन्द्रविन्दू बनाई गएको ६.८ रेक्टर स्केलको दोश्रो महाभूकम्पले हजारौं नेपालीहरुको ज्यान गएको, हजारौं व्यक्ति घाईते भएका र लाखौं जनता घरबारविहिन भई विश्व सम्पदा सूचिमा रहेका बहुमुल्य सम्पदा एवम् पूर्वाधारहरुको समेत क्षति भएको दुर्भाग्यपूर्ण घटना प्रति नेपाल–चीन वाणिज्य मैत्री संघ, दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र, डिआरएन ओभरसिज प्रा.लि.र नेपाल क्युएनयू फर्निचर कम्पनि लि.गहिरो दुःख व्यक्त गर्दछौं भनिएको छ ।

साथै विज्ञप्तिमा महाभूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति हार्दिक श्रद्धान्जली एवम् शोकमा रहनु भएका समस्त परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दै महाभूकम्पमा परी घाईते हुनुभएका सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं भनिएको छ ।
त्यसैगरी प्रेश विज्ञप्तिमा महाभूकम्पले आफन्त, प्रियजन, सम्पत्ति र सम्पदा गुमाउँदा ठूलो शोक परेको उल्लेख गर्दै यो शोकको घडिमा भूकम्प पीडितको खोजी, उद्धार र उपचार का साथै आवश्यक राहत सामग्री वितरणमा ढिलाई नगर्ने परिस्थिती श्रृजना भएको औल्याउँदै घरबार विहिन परिवारको पुनःस्थापनाको लागि आवश्यक सहयोग र दीर्घकालीन कार्यक्रम तर्जुमा गर्न सरकार समक्ष जोडदार माग गर्दछौ भनिएको छ ।
साथै राष्ट्रिय संकटको यस घडिमा सहयोग र समर्थन गर्ने सम्पूर्ण मित्रराष्ट्रलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं र ज्यानको समेत प्रवाह नगरी महाभूकम्प सम्वन्धि समाचार शंकलन गरी त्यसको प्रकाशन तथा प्रसारण मार्फत जनतालाई सही सूचना र जानकारी गराउने समस्त सञ्चारकर्मी साथीहरु र सञ्चारगृह प्रति हार्दिक आभार व्यक्त नगरी रहन सक्दैनौं भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
