जेष्ठ १ काठमाण्डौं ।
गलत सुचनाका आधारमा प्रहरीले आज बिहान रेडियो मिरमिरेको प्रशरण बन्द गराएको छ । थानकोटका स्थानीयवासी बताउने केदार अधिकारीले प्रहरीमा फोन गरेर दिएको जानकारीका आधारमा अनुसन्धानका नाममा प्रहरीले आज बिहान केही बेर प्रशारण अबरुद्ध गरेको हो ।
बिहान ६ बज्नु अघि रेडियो मिर्मिरेको कार्यलय अनामनगरमा सई नृप बोहराको नेतृत्वमा आएको प्रहरीटोलीले गलत समाचार दिएकाले माथिबाट थानामा ल्याउनु भन्ने आदेश छ भन्दै रेडियो मिरमिरेका प्राविधिक दिवाकर चौधरीलाई लिएर गए पछि रेडियोको बिहान ६ बजेको समाचार प्रशारण समेत रोकिएको थियो ।
समाचार प्रशरण बन्द हुन्छ, अहिले जान मिल्दैन भन्दै सहसम्पादक मिक्साङ वाईवाले बताउनु भएपनि बन्द भए पनि अहिले नै जानु पर्छ भन्दै प्राविधिक धिवाकर चौधरीलाई गाडीमा राखेर लिएर गएको हो । उजुरी गर्ने व्यक्तिलाई बिहान निकैबेर प्रहरीले सम्पर्क गर्न खोजेपनि प्रहरी कार्यलयको फोन समेत उठाएका थिएनन् ।
अधिकारीले रेडियो मिर्मिरेको बिजनेश अफेयर्ससँग सम्बन्धित नम्बर समेत प्रहरीमा दिएकाले उनको मनशाय गलत रहेको मिर्मिरे सञ्चालक समितिले आशंका गरेको छ । उनले राति नै भूकम्प पिडितको गुनासो सुन्नका लागि प्रयोगमा ल्याएको आकस्मिक नम्बर १२३४ मा फोन गरेर उजुरी गरेको सिंहदरबार वृतका डिएसी सन्तोष खड्काले जानकारी दिनु भयो ।
बिहान सवा ६ बजे पछि रेडियो मिर्मिरेका प्रवन्ध निर्देशक कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलीमा गएर समाचार गलत नभएको प्रमाणित भए पछि प्रहरीले उजुरी गर्ने व्यक्ति थानकोट निवासी केदार अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ ।
यसैबीच रेडियो मिर्मिरेले जनताको सूचनाको हकमा प्रभाव पर्ने गरी राज्यपक्षबाट मिडिया हाउस भित्र प्रवेश गरी अप्रमाणित सुचनाकै आधारमा प्रशारण वन्द हुने गरी रेडियोको कर्मचारीलाई गिरफ्तार गर्नु गलत भएको भन्दै भत्सना गरेको छ । त्यसै गरी आज बिहान समेत आफूलाई १२३४ नम्बर कन्ट्रोल रुमको कर्मचारी बताउने व्यक्तिले रेडियो मिर्मिरेमा फोन गरी धमक्याएको समाचार शाखाले जनाएको छ । फोन गर्ने व्यक्तिले आफ्नो परिचय र हैसियत भने खुलाएका छैनन् ।
कुनै पनि सञ्चार गृहमा गलत तरीकाले प्रवेश गर्दै काम गर्ने वातावरणमा प्रभाव पर्ने गरी व्यवहार गर्ने शैली गलत भएको रेडियो मिरमिरेका प्रबन्ध निर्देशक कृष्ण कुमार श्रेष्ठले बताउनु भयो । गलत उजुरी दिएर मिडियालई दुखः दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कार्बाही गर्न रेडियो मिरमिरेले जोडदार माग गरेको छ ।