काठमाडौ, वैशाख ३० ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकले संकल्प प्रस्ताव पारीत हुने छ । यसअघि हिजोको बैठकमा संकल्प प्रस्ताव पारित गर्ने भनिएपनि शाक्तिशाली भूकम्पका कारण बैठक अवरुद्ध भएपछि आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो ।
संसद बैठक चलिरहेको अवस्थामा भूकम्पको कम्पन सुरु भएपछि मन्त्री तथा सभासदहरुको केहीबेर भागदौड समेत मच्चिएको थियो । दिउँसो १ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा आज पनि बोल्न बाँकी सभासदहरुले संकल्प प्रस्तावमाथि आफनो धारणा राख्नेछन् । संकल्प प्रस्तावलाई आजै अनुमोदन गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार आज सांसदहरुले बोल्नेक्रम सकिए लगत्तै सबैको धारणलाई समेटेर संसदले संकल्प प्रस्ताव पारित गर्दै सभामुख सुवास चन्द्र नेमवाङले संसद अधिवेशन सकिएको घोषणा गर्नु हुने छ । प्रस्ताव पारित भएपछि सरकारले सोही अनुरुप पिडितलाई राहत र पुननिर्माणको कार्य अघि बढाउने तयारी गरेको छ ।