काठमाडौं, वैशाख २९ ।
दोलखालाई केन्द्रविन्दु बनाएर पुनः शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले ७.३ रेक्टर स्केलको भूकम्प भएको देखाए पनि ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
मध्यान्ह १२ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक र दोलखाको बीचलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।पहिलो भूकम्पको ठूलो धक्का पछि स–साना पराकम्पनहरु गइरहेको छ ।
यसपछि पराकम्पन जाने क्रम जारी रहेको छ । पहिलो धक्का पछि ६.२ र ५.३ रेक्टर स्केलको पराकम्पन गएको छ ।राजधानीमा आज कार्यालय समय भएका हुनाले भूकम्पको धक्कापछि मानिसहरु आफन्तलाई खोज्दै गन्तव्यतर्फ फर्कन हतार गरिरहेका छन् । जसका कारण रिंगरोड क्षेत्र जाम रहेको छ ।
मंगलबार दिउँसो आएको शक्तिशाली भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।
दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो ।
सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।
दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्याएको छ । थप विवरण आउन बाँकी छ ।
